बुटवल, पुस २७।
बुटवल – ७ शिवनगरमा रहेको हामी र हाम्रो समाज बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक लक्ष्मण नेपालीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै नेपालीले सहकारीले स्थापनाको छोटो समयमै आर्थिक रुपमा राम्रो भएकोमा सञ्चालक समितिलाई धन्यवाद व्यक्त गरे । उनले सहकारी सेयर सदस्यहरुको आर्थिक मेरुदण्ड भएकाले यसले सदस्यको जीवनस्तर माथि उठाउन प्रत्यक्षरुपमा सहयोग पुगेको बताए । सहकारीका अध्यक्ष विश्वकर्माले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष डोलेन्द्र गहतराजले आर्थिक प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित भएको छ ।
कार्यक्रममा विसे नगर्ची एकताको प्रतिक नेपालका अध्यक्ष तथा सहकारीका सल्लाहकार राम कुमार रणपाल, सहयात्री बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरि बहादुर बोमरेल, विश्वज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेवन्त विश्वकर्मा, राष्ट्रिय दलित समाज कल्याण परिषद्का केन्द्रीय सदस्य तथा सहकारीका सल्लाहकार रवि विश्वकर्मा, इसुवी सिंह विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सबैभन्दा धेरै सदस्य विस्तार गर्ने सहकारीका सल्लाहकार तथा परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली सम्मानित भएका छन् । त्यस्तैगरी बिडिएस उत्तीर्ण डा। मनोज्ञ विश्वकर्मा, एसईई परीक्षा २०८१ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने सन्ध्या चित्रकार , दिलसन सुनार र अञ्जना विकेलाई सम्मान गरेको छ । सहकारीमा कुल शेयर पुजी ४१ लाख ४ हजार, निक्षेप रकम १ करोड ९ लाख ५९ हजार ४ सय ५८, कर्जा लगानी १ करोड ५२ लाख ९ हजार ४ सय ५ रुपैयाँ रहेको छ ।
२०७९ सालमा दर्ता भएको सहकारीमा हाल २ सय २९ जना महिला सेयर सदस्य र २ सय ९० जना पुरुष सेयर सदस्य गरी कुल ५ सय २९ जना सेयर सदस्यहरु आबद्ध रहेका छन् । सहकारीका अध्यक्ष चित्रलाल विश्वकर्माले सहकारीलाई यहाँसम्म ल्याउन अहोरात्र लाग्ने सम्पूर्ण टिमप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन् । सहकारीका उपाध्यक्ष पिताम्बर विश्वकर्माको स्वागत मन्तव्यमा सञ्चालक समिति सदस्य मिन बहादुर विकले कार्यक्रमको सञ्चालन गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)