बुटवल,पुस २३ ।
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे ‘जङ्गली’ र चन्द्र बहादुर केसीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङका घिमिरेलाई अपाङ्ग क्लष्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो, भने गुल्मीका केसीलाई खुलाबाट उम्मेदवार बनाइने भएको हो ।
दाङको लमही नगरपालिका–१ निवासी घिमिरे कांग्रेसका पुराना र सङ्घर्षशील नेता रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेविसंघबाट सुरु भएको हो । त्यसपछि उनी तरुण दलमा सक्रिय भए ।
२०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका रहे । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका नेता हुन् । उनी कांग्रेसको क्षेत्रीय सभापतिसमेत भइसकेका छन् । केसी पनि कांग्रेसका पुराना नेता हुन् ।
गुल्मी रेसुङ्गा नगरपालिका निवासी केसीले यस अघि २०७४ मा गुल्मी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । उनी गुल्मीको पूर्व जिविस सभापति समेत भएर काम गरेका नेता हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)