चितवन,पुस १५ ।
घरेलु टोली चितवन क्रिकेट क्लबले इन्डो–नेपाल टी–२० च्याम्पियनसिपको उपाधि जितेको छ।
चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आइतबार भएको फाइनल खेलमा चितवनले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई १ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै चितवनले नगद ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्यो भने उपविजेता एपीएफले २ लाख रुपैयाँमा चित्त बुझायो।
एपीएफले दिएको १४४ रनको लक्ष्य चितवनले एक बल बाँकी छँदै ९ विकेट गुमाएर पूरा गर्यो।
चितवनका लागि शुभ कंशकारले ६७ रन र दीपक डुम्रेले ३७ रनको महत्वपूर्ण योगदान दिए। अन्तिम ओभरमा ७ रन आवश्यक हुँदा चितवनका दुई विकेट मात्र बाँकी थिए। अन्तिम बलमा ४ रन चाहिएको अवस्थामा विपिन खत्रीले छक्का प्रहार गर्दै चितवनलाई रोमाञ्चक जित दिलाए।
एपीएफका लागि इर्शाद अहमदले ५ विकेट लिँदै उत्कृष्ट बलिङ गरे भने अविशेष गौतम र दिवन पुनले १–१ विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ६ विकेटको क्षतिमा १४३ रन बनाएको थियो। एपीएफका लागि दीपक बोहराले ४७ रन, सुमित महर्जनले २८, अमरसिंह रौटेलाले २५ र सलहुदिन खानले २२ रन बनाए।
चितवनका बलर दीपेश कँडेलले २ विकेट लिए भने विपिन खत्री, नरेश प्रधान र दीपेश श्रेष्ठले १–१ विकेट लिए।
फाइनलमा उत्कृष्ट प्रदर्शन गरेका शुभ कंशकार ‘प्लेयर अफ द म्याच’ घोषित भए।
व्यक्तिगत पुरस्कार :
सर्वोत्कृष्ट खेलाडी: तृतराज दास (त्रिभुवन आर्मी क्लब) – नगद १५ हजार
उत्कृष्ट ब्याटर: मोहम्मद कैफ (दिल्ली वन्डर्स) – १० हजारउत्कृष्ट बलर: दीपेश कँडेल (चितवन) – १० हजार
तेस्रो स्थान तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले दिल्ली वन्डर्सलाई ३६ रनले पराजित गर्यो। आर्मीले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो। सो खेलमा पनि तृतराज दास प्लेयर अफ द म्याच घोषित भए।
विजयी खेलाडीहरूलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल तथा चितवन जिल्ला क्रिकेट संघका कार्यवाहक अध्यक्ष उमेश पियाले पुरस्कार वितरण गरे।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)