बुटवल,पुस ५ ।
श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङले वैदेशिक ऋणको भर परेर देशको विकास हुन नसक्ने बताएका छन् ।श्रम संस्कृति पार्टी रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक साम्पाङले ऋण लिएर देश बनाउने मानसिकता गलत भएको टिप्पणी गरे ।
नेपाललाई समृद्ध बनाउन हप्तामा एक दिन देशका लागि अनिवार्य श्रम गर्नुपर्ने प्रस्ताव उनले अघि सारे । 'ऋणले देश बन्दैन, श्रमले बन्छ,' साम्पाङले भने, 'हप्ताको ६ दिन आफ्नो लागि काम गर्नुहोस् तर बाँकी एक दिन देशका लागि श्रम गर्नुहोस् ।'
छिमेकी मुलुक चीनसहित जापान र कोरियाको उदाहरण दिँदै उनले ती देशहरू ऋणले नभई जनताको कडा परिश्रम र श्रम संस्कृतिले नै धनी बनेको उदाहरण दिए । उनले अब गफ गर्ने मात्र नभई काम गर्ने संस्कृतिको विकास गर्नु नै वर्तमान समयको मुख्य आवश्यकता रहेकोमा जोड दिए ।
एक जनाको कमाइले मात्र परिवार र देश चल्न गाह्रो हुने उल्लेख गर्दै उनले हरेक नागरिकलाई उत्पादन र श्रमसँग जोडिन आग्रह गरे । सम्बोधनका क्रममा उनले मुलुकको विकासमा बाधक रहेको भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र देशलाई पूर्ण रूपमा भ्रष्टाचारमुक्त बनाउनुपर्ने धारणासमेत व्यक्त गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)