काठमाडाैँ,मंसिर २१ ।
समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि एकै दिन ३३ दल दर्ता भएको छ । आजबाट समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ता खुलेको छ । यही मंसिर २३ गतेसम्म समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिन्छ ।
आइतबार पहिलो दिन समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि ३३ दलले दल दर्ताको निवेदन दिएका हुन् ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ ।
आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय तोकिएको छ । प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।
विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ ।प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने कानूनी व्यवस्था रहेको छ ।
प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)