बुटवल,मंसिर १६ ।
साहित्यकार तथा वरिष्ठ समालोचक डा. नारायणप्रसाद पन्थ नव जागृति पुस्तकालय बुटवलद्वारा स्थापित कविरत्न माधवप्रसाद देवकोटा पुरस्कार- २०८२ बाट सम्मानित हुनुभएको छ ।
खास गरी समालोचना तथा लुम्बिनी प्रदेशको नाट्य विधाको अन्वेषणमा पुर्याउनु भएको योगदानको उच्च मूल्याङ्कन गरी उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो ।
एक कार्यक्रमबीच बुटवलमा उहाँलाई प्रमुख अतिथि विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बेनप्रसाद पौडेल क्षेत्री, मूल्याङ्कन समितिका संयोजक प्रा. डा. हिरण्यलाल ज्ञवाली तथा पुस्तकालयका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले सम्मान तथा पुरस्कृत गर्नुभयो ।
स्व. माधवप्रसाद देवकोटाको १२३ औं जन्मजयन्तीका अवसरमा सम्मानपत्र, दोसल्ला तथा नगदसहित उहाँलाई सम्मान गरिएको हो । सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान दिनु भएका समालोचक डा. पन्थ २ दशक देखि बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापनरत हुनुहुन्छ ।
समालोचना र अनुसन्धानका क्षेत्रमा विशेष योगदान दिनुभएका डा. पन्थले नेपाल संस्कृत बिश्वबिधालयबाट बिधाबारिधि गर्नुभएको छ । उहाँको साहित्य र सहित्येेतर गरी दुई दर्जन भन्दा बढी कृति प्रकाशित छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)