Logo बिहिवार, आश्विन १ गते २०८३
images

कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार बनाउन राख्यो १० सर्त

कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार बनाउन राख्यो १० सर्त

  • 600
    SHARES

  • कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार बनाउन राख्यो १० सर्त

    काठमाडौँ,मंसिर १६ ।

    नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुन चाहनेका लागि १० सर्त राखेको छ ।

    सोमबार सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकको निर्णयानुसार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मातहतका कार्यालयलाई गरेको परिपत्रमा उम्मेदवार बन्न १० सर्त पालना गर्नुपर्ने उल्लेख छ ।

    परिपत्रको बुँदा नम्बर ३ मा ‘उम्मेदवारको नाम सिफारिस गर्दा अनिवार्य रूपमा विशेष ध्यान दिनुपर्ने थप विषयहरू’ शीर्षकमा ती सर्त राखिएको छ ।

    पहिलो नम्बरमा ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति हुनु पर्ने,’ उल्लेख गरिएको छ ।

    विधानको त्यो धारामा उम्मेदवार हुन चाहिने योग्यता सम्बन्धी विषय उल्लेख छ । उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख छ तर, कुनै राजनीतिक दल नेपाली कांग्रेसमा समाहित वा एकीकरण भएकोमा वा अन्य राजनीतिक दलमा काम गरी नेपाली कांग्रेसमा प्रवेश गरेको व्यक्तिको हकमा केन्द्रीय कार्यसमितिले निर्णय गरे बमोजिम हुने भनिएको छ ।

    त्यस्तै कांग्रेसद्वारा सञ्चालन गरिएका विभिन्न कार्यक्रम, अभियान र आन्दोलनमा सक्रिय रूपले भाग लिएको, निर्वाचनमा कांग्रेसका उम्मेदवारको पक्षमा सक्रियतापूर्वक काम गरेको, प्रचलित कानुनले उम्मेदवार हुन योग्य भएको, समाजमा विकास निर्माण, रचनात्मक तथा सामाजिक कार्यमा क्रियाशील रहेको र उच्च नैतिक चरित्र भएको हुनुपर्ने पनि विधानमा उल्लेख छ ।

    कांग्रेसले परिपत्रको दोस्रो बुँदामा जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसंगतिमा दोषी ठहर भएका व्यक्तिलाई उम्मेदवार नबनाउने बताएको छ ।

    २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पार्टी विधानको धारा ३३ (२) बमोजिम आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन नपाउने पनि परिपत्रमा उल्लेख गरिएको छ ।

    परिपत्रमा चौथो सर्तका रूपमा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिहरूको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख गरिएको छ । तोकिएको उम्मेदवारको संख्याभन्दा बढी नाम सिफारिस गर्न नपाउने पनि परिपत्रमा लेखिएको छ । प्रत्येक सिटका लागि ३÷३ जनाको नाम सिफारिस गर्न परिपत्रमार्फत मातहतका कार्यालयलाई निर्देशन दिइएको छ ।

    यसभन्दा अघिल्ला निर्वाचनमा सहमति जुटाउन नसकिएको भन्दै जतिले उम्मेदवार बन्न आकांक्षा राख्दै फाराम भर्छन्, सबैको नाम केन्द्रमा पठाउने परिपाटी अन्त्यका लागि अहिले परिपत्र गर्दा नै बन्देज लगाएर पठाएको कांग्रेस केन्द्रीय कार्यालयका एक पदाधिकारीले बताए ।

    ती पदाधिकारीले भने, ‘भद्रगोल रूपमा उम्मेदवारका लागि नाम सिफारिस भएर आएपछि यसअघिका निर्वाचनमा समस्या देखिएका थिए । ती समस्या समाधानका लागि पहिल्यै सीमा तोकेर परिपत्र गरिएको हो ।’

    एक व्यक्तिलाई एक पदमा मात्रै उम्मेदवार सिफारिस गर्न केन्द्रीय कार्यालयको निर्देशन छ । ‘प्रतिनिधि सभा प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्य पदमध्ये कुनै एक व्यक्ति एक पदका लागिमात्र सिफारिस गर्नु पर्नेछ,’ परिपत्रमा लेखिएको छ ।

    प्रतिनिधि सभा सदस्य पदको उम्मेवारका लागि नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचय पत्रको प्रतिलिपि पेस गर्नु पर्नेसमेत परिपत्रमा लेखिएको छ ।

    प्रतिनिधि सभा समानुपातिक तर्फका सिफारिस भएका उम्मेदवारहरूको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता परिचय पत्रको प्रतिलिपि, मतदाता नामावली नाम समावेश भएको निस्सा, उम्मेदवार हुनका लागि पार्टी केन्द्रबाट तोकिएको प्रतिवद्धता पत्र र निर्वाचन आयोगले तोकेको स्वघोषणपत्र, उम्मेदवारको वैयक्तिक विवरण र सो घोषणा गरिने सम्पत्ति विवरण फारममा हस्ताक्षर गरेको हुनुपर्ने पनि परिपत्रमा लेखिएको छ ।

    कांग्रेसले परिपत्रमा २०७९ मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई उम्मेदवार सिफारिस गर्न नपाइने उल्लेख गरेको छ ।

    यसअघि पार्टीको सिफारिसमा विभिन्न जिम्मेवारीमा पुगेका र जिम्मेवारीमा पुगेबापत पार्टीलाई लेवी नबुझाएकालाई उम्मेदवार नबनाउने पनि परिपत्रमा कांग्रेसले उल्लेख गरेको छ । ‘पार्टी विधानको धारा ६९ बमोजिम पार्टीका क्रियाशील सदस्य, विभिन्न तह र जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरुले तोकिए बमोजिमको सहयोग रकम (लेवी) तोकिए बमोजिमको पार्टी निकायमा अनिवार्य बुझाउनु पर्नेछ । सहयोग रकम (लेवी) नबुझाउने त्यस्ता कुनै पनि व्यक्ति कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन्,’ मुख्यसचिव पौडेलद्वारा जारी परिपत्रमा उल्लेख छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology