बुटवल,माघ २१-
रुपन्देहीको सैनामैनास्थित श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ बोलबम धाममा दुईदिने सन्त सम्मेलन सम्पन्न भएको छ । महेश सन्यास आश्रमका प्रतिनिधि स्वामी ईश्वरानन्दको प्रमुख आतिथ्यतामा सैनामैनाको श्री पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा कार्यक्रम सम्पन्न भएको हो ।
बोलबम धामका प्रमुख संरक्षक एवं सन्त समाज नेपालका संस्थापक महासचिव धर्म गुरु ब्यासाचार्य किशोर कुमार गौतमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शकंराचार्य परम्परा, बौद्ध परम्परा, निम्बार्क परम्परा, नाथ परम्परा, वैदिक परम्पराका सन्तहरुको उपस्थिति रहेको थियो ।
सो कार्यक्रमबाट आगामी जनगणनामा हिन्दुहरुको संख्या घट्न नदिने, धर्मपरिवर्तनमा सावधानी भइ धर्म परिवर्तन निषेध गर्ने, तीर्थस्थलको वातावरण स्वच्छ तथा प्रकृतिमय राख्न प्रेरित गर्ने, स्थापित प्रसिद्ध तीर्थस्थल धामहरुमा आवश्यकता अनुसार कथा प्रवचन सत्सङ्गलाई निरन्तरता दिने, यज्ञ अनुष्ठान गर्दा सकाम, निष्काम यज्ञमा शास्त्रोक्त विधिसम्मत गर्ने गराउने, गौ निकासी पूर्ण बन्द हुनुपर्छ र गौसेवामा विशेष सबैको सक्रियता रहनुपर्ने, वैदिक गुरुकूलहरुको क्रमशः स्थापना गर्दै जाने र स्थापित गुरुकूलहरुको सम्वद्र्धनमा सक्दो सहयोग गर्ने, सन्तमहात्मा र धर्माचार्यहरुको प्रतिष्ठामा अभिबृद्धि गर्दै जाने, बोलवम धामको मूल मन्दिरको तत्काल पुनः निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराउन सबै तहका सरकार समंक्ष माग गरी निर्माण कार्य अघि बढाउने, हिन्दु राष्ट्र यथावत कायम राख्नका लागि प्रयत्नशील रहने जस्ता निर्णयहरु परित गरेको छ ।
कार्यक्रममा विशिष्ट अतिथि आचार्य व्यास श्री विष्णु प्रसाद ज्ञवाली, योगी सोमराज, नाथ सम्प्रदायका व्याघ्र बेदनाथ, सूर्यनाथ रगडबावा, स्वमी गोपालानन्द गिरी, पं. पुरुषेत्तम पाण्डे, साधक आनन्द, शिवलाल पाण्डे, हिरालाल कँडेल, पं केशवराज अर्याल, आचार्य बाबुराम पोख्रेल, आचार्य टिकाराम पौडेल , जनक चापागाई, मुधुसुदन गुरागाई लगायतको उपस्थिति रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)