बुटवल, मङ्सिर १ ।
लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आफ्नो स्वकीय सचिवालय विघटन गरेका छन् । सभामुख घर्ती मगरले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा ८ को उपदफा (१) अनुसार प्रदान हुँदै आएको स्वकीय सचिवालय तथा निजी कर्मचारी सुविधा विशेष परिस्थिति र वर्तमान अवस्थामा आवश्यकतालाई मध्यनजर गर्दै स्थगित गरिएको उल्लेख गरेका छन् ।
सचिवालय हटाउने निर्णय मंसिर १ गते (आज)देखि लागू हुने सूचनामा उल्लेख छ ।जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई ३ जनाभन्दा बढी सचिवालय नराख्न भन्दै पत्राचार गरेको थियो । तर, संघीय सरकारबाट कुनै पत्राचार नभएपछि सभामुख घर्तीले सोमबारदेखि लागू हुने गरी ५ सदस्यीय सचिवालय हटाएका हुन् ।
सभामुख घर्तीको सचिवालयमा उपसचिव स्तरको स्वकीय सचिव पदमा सोमै, अधिकृत स्तरको सहायक स्वकीय सचिव, प्रेस संयोजक, कार्यालय सहयोगी र चालक रहेका थिए ।
अर्को व्यवस्था वा निर्णय नभएसम्मका लागि सभामुखको ५ जनाको सचिवालयका सबै कर्मचारीले मंसिर १ गतेबाट लागू हुने गरी अवकाश पाएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी गिरिराज खनालले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)