बुटवल, कार्तिक २९ ।
नेकपा एमाले रुपन्देहीले केन्द्रको निर्देशनअनुसार आज बुटवलमा जनप्रदर्शन गरेको छ । एमाले रुपन्देहीले बुटवलको ट्राफिक चोकमा आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री छविलाल विश्वकर्माले नेकपा एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामहरूबाट अत्तालिएर प्रतिगामी तत्वहरूले सिंगो मुलुक अगाडि बढिरहेको दाबी गरे । उनले एमालेविरुद्ध षड्यन्त्र गरेर भदौ २३ र २४ गतेको घटना घटाएको बताए ।
उनले लोकतन्त्र र संविधानको रक्षा, संसद् पुनर्स्थापना, सर्वपक्षीय सरकार गठनका लागि जानुपर्ने भन्दै एमालेलाई कसैले चाहेर कमजोर पार्न नसक्ने बताए । 
एमाले पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान संकटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताए ।
युवा संघका पूर्वउपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्ति लगायतमा छानीछानी आगजनी र तोडफोड गरिएको बताए ।
उनले एमालेका नेता कार्यकर्तामाथि कसैले गिद्धे दृष्टि लगाएमा आफूहरू चुप लागेर नबस्ने र प्रतिकारमा उत्रिने चेतावनी दिए । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले भदौ २३ र २४ गते भएका घटनाहरूको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)