रुरु, कात्तिक १५ ।
ऋषिकेश मन्दिरको रथयात्राका लागि तानसेन नगरपालिकाले कात्तिक १६ गते सार्वजनिक बिदा दिएको छ । भाेलि तानसेन–१४ रिडी धामस्थित ऋषिकेश मन्दिरको रथयात्रा गरिने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको गत असोज २६ गते बसेको कार्यपालिकाको बैठकले ऋषिकेश मन्दिरको महिमा बढाउन र सो क्षेत्रलाई धार्मिक आस्थाको केन्द्रका रुपमा स्थापित गर्न सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।
सार्वजनिक बिदाको दिन नगरपालिका मातहतमा रहेका सामुदायिक र संस्थागत विद्यालय, नगरपालिकाको कार्यालय, वडा कार्यलय, स्वास्थ्य संस्थालगायतका संघसंस्था बन्द रहने उहाँले बताउनुभयो । नगरपालिकाले अत्यावश्यक सेवा भने जारी रहने जनाएको छ ।
हरेक वर्ष यहाँ कात्तिक शुक्ल द्वादशीका दिन सिन्दुरयात्रा (रथयात्रा) गर्ने प्रचलन रहेको तानसेन–१४ का वडाअध्यक्ष शोभाखर भट्टराईले बताउनुभयो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)