बुटवल,कार्तिक १४।
पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दीरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पारी मनाइने मेलाका लागि तयारी पूरा भएको छ ।
यो वर्ष कार्तिक १९ गते परेको पूर्णिमाको अवसर पारी लाग्ने मेलाका लागि सुरक्षा व्यवस्था, भक्तजनहरुलाई पूजाका लागि सहजिकरण, यातायात लगायतका विषयमा तयारी अन्तिम तरणमा पुगेको मन्दिर बिकास समितिले जानकारी दिएको छ ।
मेलाको तयारी बारे जानकारी गराउन विहिबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दानबहादुर गाहाले यो वर्ष पनि महाजोग परेको हुँदा भक्तजनको भिड अत्याधिक हुने भएकाले सोही अनुसार व्यवस्थापनमा जुटेको दाबी गरे ।
गत वर्ष २ लाख भक्तजनले दर्शन गरेको सत्यवती मन्दिरमा यो वर्ष दर्शन गरेको संख्या थप बढ्ने अनुमान गरिएको उनले बताए ।
कार्तिक महिनाभित्रै शुक्ल पूर्णिमा परेको वर्षलाई महाजोक मानिने र वर माग्दा उत्तम वर्ष मानिने जनविश्वास रहँदै आएको सत्यवती मन्दीर व्यवस्थापन समितिका गाहाले बताए ।
परम्पराअनुसार पूर्णिमाको अघिल्लो दिननै भक्तजनहरु मन्दिरमा पुगेर मध्येराती सत्यवती तालको परिक्रमा गरी पूजापाठ गर्ने प्रचलन रहे पनि तिहारपछिको एकादशी सकिएलगत्तै दर्शनार्थीको भिड सुरु हुने गर्दछ ।मन्दिर परिसरमा लाइटिङको व्यवस्था, पार्किङको व्यवस्था, सचिवालय स्थापना लगायतका कामहरु भैरहेको समितिले जनाएको छ । तिनाउ गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाले कार्तिक १८ देखि २० गतेसम्म लाग्ने मेलामा सुरक्षा व्यवस्था, यातायातको भाडादर लगायतका विषयमा गाउँपालिकाले विशेष निगरानी र व्यवस्थापनमा जोड दिने बताए । यसैगरी गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सत्यवती ताल तथा मन्दी व्यवस्थापनका लागि मेला अवधिमा मात्र नभई अन्य समयमा समेत यसको बिकासका लागि योजनावद्ध काम भइरहेको जानकारी दिए । विगतमा मन्दिरमा संकलित दान दक्षिणाबाट संकलित रकमहरु अपार्दशी हुने गरे पनि आफू आएपछि यसलाई व्यवस्थित र पादर्शी गर्दै उक्त रकम मन्दिरको बिकासमै खर्च गर्ने गरिएको जानकारी दिए ।
मन्दिरमा गतवर्षको मेलाबाट ३२ लाख बढी भेटी संकलन भएको थियो भने यो वर्ष पनि सोही अनुपातमा भेटी संकलन हुने अपेक्षा गरिएको उनले बताए ।
मेलाका सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरी ६० जना बढी परिचालन गरिने तथा स्थानीय युवा समूहबाट ६० जना बढी स्वयम्सेवक परिचालन गरिने प्रहरी अधिकारीले बताएका छन् ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । परापूर्व कालमा सत्यवती बज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ । सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।
यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)