भैरहवा,कार्तिक १२।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डिपी अर्यालले वर्तमान सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताउनुभएको छ ।
रास्वपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको छठ पर्वको शुभकामनासहित पत्रकार भेटघाट कार्यक्रममा अर्यालले देशलाई सही निकास दिन चुनावबाहेक अरु विकल्प नभएको बताउनुभयो ।
अन्तरिम सरकारको मुख्य म्यान्डेट चुनाव गराउनु भएको उल्लेख गर्दै चुनाव गराउन नसके यो सरकार असफल हुने उहाँले बताउनुभयो । निर्वाचन आयोगले आह्वान गरेअनुसार मतदाता परिचयपत्र बनाउन रास्वपाले ७७ वटै जिल्लामा पार्टीका सबै संरचनालाई कार्तिक २५ सम्म सहयोगी भूमिका निर्वाह गर्न निर्देशन दिएको अर्यालले बताउनुभयो ।
पुर्वमन्त्री समेत रहनुभएका अर्यालले रास्वपालाई मुलधारको पहिलो शक्ति बनाउन जेन जी अगुवा, कुलमान घिसिङ लगायत नयाँ शक्ति र समूहलाई एकै ठाउँमा ल्याउन निरन्तर संवाद र छलफल भइरहेको र बार्ता एकदमै सकारात्मक रहेको बताउनुभयो ।
तर, यसबारे सञ्चार माध्यममा आएका समाचारमा सत्यता न भएको अर्यालले स्पष्ट पार्नुभयो ।
उहाँले भदौ २३ गते सरकारले जेनजी आन्दोलनमाथि दमन र हत्या गरेको स्पष्ट पार्दै २४ गरेको घटना विध्वंस भएको बताउनुभयो ।
भदौ २३ को घटनाका दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै उहाँले गौरीबहादुर कार्की नेतृत्वको आयोगले नपुगे त्यसलाई थप विस्तार र बलियो बनाउनुपर्ने बताउनुभयो ।
२३ गतेको घटनामा सरकारले भीड नियन्त्रणको न्यूनतम आचारसंहिता पनि पालना नगरी अत्यधिक बल प्रयोग गरी हत्यामा उत्रिएको उहाँले बताउनुभयो ।
महाधिवेशनबारे सोधिएको प्रश्नमा अर्यालले आफ्नो पार्टीको महाधिवेशन गर्ने समय आइनसकेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)