काठमाडौं ,कार्तिक ९ ।
नवनियुक्त स्वास्थ्य मन्त्री डाक्टर सुधा शर्मा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गर्नुभएको छ । शीतलनिवासमा सपथ लिएलगत्तै उहाँहरुले आ-आफ्नो मन्त्रालयमा पुगी सपथ दिनुभएको हो।
तीन वर्ष स्वास्थ्य सचिव रहेर स्वास्थ्य मन्त्रालयबाट बाहिरिनुभएकी डाक्टर सुधा शर्मा १४ वर्षपछि सोही मन्त्रालयको नेतृत्वमा फर्कनुभएको हो। २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरू गर्नुभएकी उहाँ २०६५ देखि २०६८ सम्म स्वास्थ्य सचिव रहनुभएको थियो ।
नेपाल चिकित्सक संघका पूर्वअध्यक्षसमेत रहनुभएका उहाँ सिंहदरबारको घुम्ने मेचु र `अप्रमेय’ पुस्तकका लेखक पनि हुनुहुन्छ । शर्मालाई मन्त्रिपरिषद्मा समावेश गरिएसँगै महिलाको प्रतिनिधित्वसमेत भएको छ । सपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै शर्माले जेनजी आन्दोलनका घाइते तथा प्रभावितलाई निस्शुल्क मनोसामाजिक परामर्शका लागि व्यवस्था मिलाउने निर्णय गर्नु भएको छ ।
त्यस्तै उहाँले कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस् भन्दै कर्मचारीलाई चेतावनीसमेत दिनु भयो । मन्त्रालयअन्तर्गतका शाखा तथा विभागहरूबाट प्रवाह हुने सेवासमेत नागरिक मैत्री बनाउन मन्त्री शर्माले निर्देशन दिनुभयो । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता सामाजिक कार्यमा सकृय हुनुहुन्छ । उहाँले कोभिडकालमा निस्शुल्क खाना अभियान सञ्चालन गर्नुभएको थियो । कोभिड महामा अघि गुप्ताले विपन्न र आर्थिक अवस्था कमजोर भएकाहरूका लागि कपडा बैंक अभियान पनि चलाउनु भएको थियो ।
‘हन्ड्रेड ग्रुप’ मार्फत विद्यार्थीहरूलाई पढाइरहनुभएका उहाँ बिरामीका लागि आवश्यक रगत खोजिदिने गर्नुहुन्थ्यो । जेनजी आन्दोलनको जगमा बनेको सरकारका जेनजी मन्त्रीका रूपमा गुप्ता मात्रै रहनुभएको छ । पदभार ग्रहण गर्दै उहाँले मन्त्रालय तथा मातहतका बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने पहिलो निर्णय गर्नुभएको छ ।
विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो ।
उहाँले मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत बताउनु भयो । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरेकोमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्रीमा प्रस्तावित गणपतिलाल श्रेष्ठ र श्रम तथा रोजगार मन्त्रीमा प्रस्तावित खगेन्द्र सुनारको सपथ अन्तिम समयमा रोकिएको थियो ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि २७ गते प्रधानमन्त्री नियुक्त हुनभएकी प्रधानमन्त्री कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । कार्कीले यसअघि भदौ ३० गते र असोज ६ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)