काठमाडौं,कार्तिक ५ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी आन्दोलनको क्रममा भदौ २३ गते सरकारले गरेको दमनलाई नेपाली इतिहासकै बिर्सन नसकिने घटना बताएका छन्।
महोत्तरीको रामगोपालपुरमा आयोजित कार्यक्रममा उनले भने, “त्यो दिन युवामाथि भएको बर्बर दमन र नृशंस हत्या नेपालका लागि कहिल्यै नबिर्सिने परिघटना हो।”
प्रचण्डले आफूले सरकारलाई अघि नै चेतावनी दिएर दमनको बाटो नअपनाउन आग्रह गरेको स्मरण गरे। “मैले भनेको थिएँ, युवाको आन्दोलनमा बल प्रयोग नगरियोस्, दमन गरियो भने परिणाम भयानक हुनेछ,” उनले भने।
उनका अनुसार, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ कै दिन राजीनामा दिएको भए २४ गतेको विध्वंस रोकिन्थ्यो। “ओलीको अहंकार र प्रतिशोधी भावनाले देशलाई विनाशको मुखमा पु-यायो,” प्रचण्डले आरोप लगाए।
उनले आन्दोलनपछि उत्पन्न संकट व्यवस्थापनका लागि राति ९ बजेदेखि बिहान साढे ३ बजेसम्म राष्ट्रपति भवनमा राजनीतिक दलका नेताहरू र राष्ट्रपतिसँग वार्ता गरेर देशलाई दुर्घटनाबाट जोगाउने प्रयास गरेको पनि बताए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)