Logo मंगलवार, श्रावण १२ गते २०८३
images

उत्तरबाहिनी क्षेत्रमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ सञ्चालन

उत्तरबाहिनी क्षेत्रमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ सञ्चालन

  • 2.5K
    SHARES

  • उत्तरबाहिनी क्षेत्रमा ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव’ सञ्चालन

    बुटवल,असोज २६ ।

    गण्डकी र लुम्बिनी प्रदेशको सिमानामा पर्ने उत्तरबाहिनी क्षेत्रमा एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२’ सञ्चालन गरिएको छ ।  कालीगण्डकीको महिमालाई विश्वभर चिनाउने उद्देश्यले धार्मिक महामेला धर्मोत्सव गरिएको हो ।

    २१ असोजबाट शुभारम्भ गरिएको महामेला धर्मोत्सव १९ कात्तिकसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । विशेषगरी नदीहरू उत्तरप्रवाह हुने दुर्लभ मानिन्छ भने धार्मिक र वैज्ञानिक दृष्टिकोणले यस्ता नदीहरू महत्वपूर्ण मानिन्छन् ।

    धार्मिक रूपमा महत्वपूर्ण मानिएको उत्तरबाहिनी क्षेत्रलाई विश्वभर चिनाउन यहाँ स्थापित कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानले महामेला धर्मोत्सवको आयोजना गरेको हो । स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुंगा र पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दीको संगमस्थल उत्तर बाहिनी क्षेत्र (कालीगण्डकी तट)मा महामेला सुरु गरिएको प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।

    धार्मिक रूपले निकै पवित्र मानिने र एकमात्र शालिग्राम पाइने कालीगण्डकी नदी त्यसमा पनि उत्तरतर्फ बगेको क्षेत्र भएकाले झनै पवित्र हुने हुँदा यसको प्रचारप्रसारमा सहयोगी भूमिका खेल्ने उद्देश्यले एक महिने ‘उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव—२०८२’ सञ्चालन गरिएको अध्यक्ष चैतन्य कृष्णले बताए ।

    यहाँ प्राकृतिक रूपमा ‘ऊँ’ लेखिएको चक्रशिलाको दर्शन, साढे ३ किलोमिटरको दूरीसम्म उत्तरतर्फ भएर बगेकी कालीगण्डकीमा स्नान, २० फिट अग्लो भगवान् शिवको सालिकको दर्शनका साथै कालीगण्डकीकै जलको १ सय ८ धारामा नुहाउनेलगायतको व्यवस्था मिलाइएको छ । १८ पुराण, सहस्र चण्डीपाठ अनुष्ठानको सुन्दर अवसर एवं सवा लाख शालिग्रामको दर्शन गर्न पाइने भएकाले पनि महामेलामा सहभागी हुनुले ठूलो अर्थ राख्ने आयोजकको भनाइ छ ।

    स्याङ्जा र पाल्पाको मात्रै नभएर दुवै प्रदेशका लागि यो क्षेत्र एक ऐतिहासिक तीर्थस्थल बन्ने सोच र उत्तर बाहिनी क्षेत्रको धार्मिक विकासमा दीर्घकालीन हुने विश्वास लिएर महामेलाको आयोजना गरिएको ज्ञान विज्ञान प्रतिष्ठानका संरक्षक शंकरप्रसाद पाण्डेले बताए । महामेलाले सनातन धर्म, संस्कार र संस्कृति संरक्षण गर्ने र नदीलाई स्वच्छन्द प्रदान गर्ने विश्वास आयोजकको छ । यो धार्मिक मेलामा झन्डै १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    महामेलाको गल्याङ नगर प्रमुख गुरूप्रसाद भट्टराईले शुभारम्भ गरेका थिए । उनले गल्याङको पहिचानको रूपमा रहेको उत्तरबाहिनी क्षेत्रलाई यस धर्मोत्सवले फरक धार्मिक क्षेत्र बनाउनेमा विश्वास व्यक्त गरे । धर्मोत्सवका लागि हरिद्वारलगायतका नेपाल र भारतका विभिन्न स्थानबाट प्रसिद्ध सन्तगुरुहरू कालीगण्डकी तटमा आइपुग्ने र सहभागी हुने भक्तजनलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शिला, मुक्तिनाथलगायतका तीर्थस्थल दर्शनको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

    damodar mela.jpg

    शास्त्रमा उत्तरतर्फ फर्केको नदीलाई सर्वतीर्थ भनिन्छ । कालीगण्डकी उत्तर भएर बगेकी हुनाले यस क्षेत्रलाई उत्तर बाहिनी भनिएको हो । जहाँ ब्रह्ममयी गंगा नदी उत्तर बाहिनी मूर्ति भएर विद्यमान हुन्छिन्, त्यहाँ उनको दर्शन गर्दा, स्नान गर्दा र प्रणाम गर्दा समस्त पापहरूको नाश हुन्छ, भन्ने विश्वास गरिएको छ ।

    राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा सांस्कृतिक हाजिरी जवाफ, निबन्ध लेखन, कविता प्रतियोगिता सञ्चालन गरिने प्रतिष्ठानले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology