दुर्गा शर्मा/तिलोत्तमा, भदौ २६ ।
आनन्दवन मधुवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
रुपन्देहिको वडा नम्बर ६ मा रहेको सहकारीले २८औं वार्षिक साधारणसभा पञ्चरत्न गीता मन्दिरको सभाहलमा शनिवार सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार एवम् रेडियो लुम्बिनिका अध्यक्ष अर्जुनराज उपाध्यायले सहकारी संस्थाहरू स्थानीय आर्थिक सशक्तीकरण र आत्मनिर्भर समाज निर्माणको महत्वपूर्ण आधार भएको बताउनुभयो।
सहकारीले गाउँघरमा बचत लगानी र आत्मनिर्भरता ल्याएको र पारदर्शिता, जवाफदेहिता र सदस्यप्रतिको उत्तरदायित्व सहकारीको आत्मा रहेको बताउनु भयो ।कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष दिनानाथ ढकालले गर्नुभएको थियो।
उहाँले संस्थाले विगत २८ वर्षमा हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै हामीले सदस्यको विश्वासलाई मुख्य शक्ति मानेको र सहकारीमार्फत आर्थिक सहयोग र समुदाय विकासमा योगदान पुर्याउन पाउँदा गर्व महसुस भएको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष जगत पौडेलले गर्नुभएको थियो। उहाँले सदस्यहरूको सक्रिय सहभागिता र व्यवस्थापनको पारदर्शी नीतिका कारण संस्था निरन्तर प्रगतिको बाटोमा अघि बढिरहेको बताउनुभयो।
साधारणसभामा SEE २०८१ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा–छोरीहरूलाई सम्मानगरिएको थियो। साथै ज्येष्ठ शेयर सदस्यहरू र असल ऋणी सदस्यहरूलाई पनि सम्मानितगरिएको थियो।
संस्थामा ४ सय ६३ महिला र ३ सय ९७ पुरुष गरी कुल ८ सय ६० जना सेयर सदस्य रहेको सहकारीको कुल सेयर पूँजी १ करोड १६ लाख ९६ हजार २ सय रहेको छ ।
सहकारीमा बचत निक्षेप ८ करोड ८० लाख ९० हजार २ सय ८३ रहेको छ भने ऋण लगानी ८ करोड ३२ लाख ७६ हजार रहेको छ ।
संस्थाको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षको बजेट तथा कार्ययोजना सभामा प्रस्तुत गरिएको थियो। सभाको अन्त्यमा अध्यक्ष ढकालले सबै सदस्य र सहकार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै सहकारीको प्रगतिमा सबैको निरन्तर साथ रहने विश्वास व्यक्त गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)