गुल्मी,असोज २४ ।
गुल्मीको तम्घास‐सिमीचौर‐राङ्बास ‐खज्र्याङ् सडक एक महिनाका लागि बन्दहुने भएको छ । उक्त सडकखण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका ‐१० को मैदानदेखि वडा नम्बर ‐११ को जन प्रावि विद्यालयसम्मको सडकमा आजदेखि आरसिसि र ढलानसँगै सडक मर्मत सुधारको काम शुरु गरिएको छ ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सार्वजनिक रुपमा सूचना प्रकाशित गरी यही असोज २४ गतेदेखि कात्तिक २३ गतेसम्मका एक महिना सडक पूर्णरुपमा बन्दहुने जनाएको छ ।
कार्यालयले उक्त समयसम्म वैकल्पीक सडकको रुपमा राङबास–फेदीसम्मका सवारीसाधनका लागि–मैदान–हर्राबोट–सपौदीहुँदै राङबास फेंदि सडक र रिडी‐पाल्पा एवं अर्घाखाँचीतर्फ सञ्चालन हुने सवारीसाधनका लागि घुम्ती–चारपाला–खज्र्याङ तथा तम्घास–बलेटक्सार–रिडीको वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।
सडक पूर्वाधार विकास कार्यालय गुल्मीका प्रमुख दिपक खड्काका अनुसार निर्माण कार्यको क्रममा यात्रु र चालकहरूको सुरक्षालाई ध्यानमा राख्दै सडक अस्थायी रूपमा बन्द गरिएको भन्दै उहाँले निर्धारित समयावधिभित्र काम सम्पन्न गरी सडक शिघ्र सञ्चालनमा ल्याइने बताउनुभएको छ ।
कार्यालयले उक्त क्षेत्रमा सडक निर्माणको काम गरिरहेको राजेश्वरी कन्स्ट्रक्सन प्रा.लिलाई निर्माण स्थलमा आवश्यक सूचना पाटी राख्न समेत निर्देशन गरेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)