बुटवल,भदौ २४-
कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको सन्धिखर्क नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।
कृषकहरुलाई पशुपालनमा आकर्षित गर्न यस आर्थिक बर्षमा गाइ भैसीलाइ सुत्केरी भत्ताको ब्यबस्था गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । कोरोनाका कारण स्वदेश तथा बिदेशबाट रोजगार गुमाएर फर्किएका तथा यही बसेर पशुपालनमा गर्ने कृषकहरुलाई प्रोत्साहान गर्न सुत्केरी भत्ता प्रदान गरिने नगर प्रमुख भुसालको भनाइ छ ।
जुन कृषकको घरमा गाइ भैसी ब्याउन्छ । उक्त कृषकलाई गाई–भैँसी सुत्केरी भत्तास्वरुप २ हजार रुपैया प्रदान गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताउनु भयो । गाई–भैँसी सुत्केरी भएको २ महिना अवधि भित्र वडा कार्यालयको सिफारीस सहित नगरपालिकामा निवेदन दिनु पर्ने उहाँको भनाई छ ।
गाई–भैँसी ब्याउँदा खुवाउनु पर्ने तेल, ज्वानो, जाइफल, भेली लगायतका सामाग्री खरिद गर्न कृषकलाई सजिलो होस भनेर यो कार्यक्रम संचालन गरीएको नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद भट्टराइले बताउनु भयो ।
नगरपालिकाले गाइ भैसीको पशु बिमा गर्ने किसान लाई ५० प्रतिशत अनुदान प्रदान गर्ने नगरपालिकाका पशु शाखा प्रमुख प्रकाश न्यौपानेले जानकारी दिनुभयो । यस्तै, बाझो जमिन सदुपयोग गर्ने लाई पहिलो चरणमा प्रोत्साहनस्वरुप १ हजार रुपैयासमेत नगरपालिकाले दिने भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)