बुटवल भदौ १२ ।
समुदायमा पनि काेराेना फैलिएकाे प्रदेश न ५ मा काेराेना भाइरस संक्रमितको संख्या ६ हजार १०१ पुगेको छ। प्रदेश ५ मा शुक्रबार ७२ जना कोरोना भाइरसका संक्रमित थपिएका हुन्।
प्रदेश ५ सामाजिक विकास मन्त्रालयको मिडिया ब्रिफिङमा मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले ७२ जना संक्रमितमध्ये ३९ पुरुष र ३३ जना महिला रहेको बताए। प्रदेश ५ मा १ हजार २ सय ९७ जना सक्रिय संक्रमित पुगेका छन् ।
१०५ जना स्वास्थ्यकर्मी संक्रमित :
संक्रमितमध्ये १०५ जना स्वास्थ्यकर्मी रहेका छन्। अधिकांश स्वास्थ्यकर्मी संक्रमणमुक्त भइसकेका छन्। प्रदेश ५ मा ४७०३ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ।
उनका अनुसार शुक्रबार सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १—१ जना रहेका छन्।शुक्रबारसम्म प्रदेश ५ मा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ। जसमध्ये १६ जना आइसीयूमा छन् र तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको छ। २ जनाको अवस्था चिन्ताजनक छ।
बुटवलको कोरोना अस्पतालमा २० जना, भीम अस्पताल भैरहवामा १७ जना, सुशील कोइराला अस्पताल बाँकेमा ३१ जना र बेलझुण्डी दाङको अस्पतालमा ३६ जना संक्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ। ८७ जना क्वारेन्टिनमै रहेका छन्।
प्रदेश ५ मा शुक्रबारसम्म १४७६ जना क्वारेन्टिनमै बसेका छन्। यस्तै प्रदेश ५ मा शुक्रबारसम्म ९७ हजार ५९१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९४ हजार ६१९ जनाको नतिजा आएकोमा ६१०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
२९७२ स्वाब परीक्षण बाँकी :
जसमध्ये राष्ट्रिय प्रयोगशाला काठमाडौंमा ३२०, भैरहवास्थित प्रादेशिक प्रयोगशालामा १२७८, भेरी अस्पताल बाँकेमा ६०६, राप्ती स्वास्थ्य विज्ञान प्रयोगशाला दाङमा ५२२ र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २४६ जनाको स्वाब परीक्षणको क्रममा रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)