बुटवल,भदौ २१ ।
सन्दुक सहकारीको १५ औं वार्षिक साधारणसभा बुटवल ७ दीपनगरमा रहेको सन्दुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै जिल्ला बचत संघ रूपन्देहीका अध्यक्ष बसन्त ढकालले साधारण सभा भनेको सहकारीको पर्व भएको उल्लेख गरे ।
उनले सन्दुकले उद्यमशीलतालाई प्राथमिकतामा राख्दै महिलाहरूलाई समेत उपस्थिति र नेतृत्वमा समान सहभागिता दिएकोमा खुसी लागेको विचार व्यक्त गरे ।
उनले स्थानीय सहकारीको अनुगमनको पाटो फितलो भएको समेत उल्लेख गरे । सहकारी अनुगमन नहुँदा सहकारीमा बेथिति मौलाएको भन्दै सेयर सदस्यहरूले आफ्नो सहकारीको बारेमा बुझ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य सुनिता खड्लुकले सहकारीहरूको बारेमा पछिल्लो समय राम्राभन्दा नराम्रा खबरहरु सुन्नुपरेको गुनासो गरिन् । उनले ऋण लगानीलगायतका विषयमा ध्यान दिएमा सहकारी कमजोर नभन्ने बताईन् । कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष एवं सल्लाहकार मनोज गौचनले युवा समूहले सञ्चालन गरेको सहकारीमा जेष्ठ नागरिकहरूले पनि विश्वास गरिरहेको बताउँदै सहकारीले अनुशासित भएर कार्य गर्दै आएको दाबी गरे ।
सहज सहकारीका उपाध्यक्ष कमलप्रताप भुसालले सहकारीले उद्यमशीलतालाई प्राथमिकतामा राखेको कुराले आफूलाई खुसी दिलाएको बताए ।
सहकारीका अध्यक्ष सोम बहादुर खातीको अध्यक्षता उपाध्यक्ष प्रतिभा पाण्डेको स्वागत मन्तव्य, सचिव मोहन कुमार पाण्डेले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा अध्यक्ष सोम बहादुर खातीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष अर्जुन गिरीले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक सागर भुसालले लेखा परीक्षण समितिको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ ।
सो अवसरमा सहकारीले जेष्ठ सेयर सदस्य दुईजना तथा प्लस टुमा उत्कृष्ट जिपीए ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो । ३ सय १७ महिला र २ सय ६३ पुरुष गरी कुल ५ सय ८० जना सेयर सदस्य रहेको सहकारीको कुल सेयर पूँजी ७६ लाख रहेको छ ।
सहकारीमा बचत निक्षेप ३ करोड ७९ लाख ३८ हजार रहेको छ भने ऋण लगानी ३ करोड ३५ लाख रहेको छ ।
सहकारीले सेयर सदस्यको घरमा मानवीय क्षति भएमा रु ५० हजारसम्म ३ महिनाका लागि बिना ब्याज लगानी गर्दै आएको तथा सेयर सदस्यको मृत्यु भएमा क्रिया खर्च बापत रु २५ हजार प्रदान गर्दै आएको जनाएको छ । सहकारीले सदस्यहरूको रु २ लाख बराबरको बीमा समेत गर्दै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)