बुटवल,भदौ १५।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ९ जना प्रारम्भिक उम्मेदवारसँग शनिबार सँझ केन्द्रीय कार्यालयमा डिनरमिट गर्यो । पार्टी कार्यबाहक सभापति डीपी अर्यालसहित भएको डिनरमिटको उद्देश्य आकांक्षी ९ जनामध्ये जसले टिकट पाए पनि सहयोग गर्ने प्रतिबद्धता गराउनु नै हो । रुपन्देही–३ मा आगामी कार्तिक १७ मा उपनिर्वाचन हुँदैछ ।
यसैबीच रास्ववाका आकांक्षी उम्मेदवारहरुले आज पार्टी सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका छन् छन् । उनीहरुले लामिछानेलाई सामूहिक रुपमा भेट्ने बताइएको छ । सभापतिलाई भेट गराएर उम्मेदवारहरुलाई अझै कटिबद्ध गराउने रास्वपाको उद्देश्य हो ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवम् राप्रपाका नेता दीपक बोहोराको निधन भएकाले यहाँ उपनिर्वाचन हुँदै छ । पार्टीले उम्मेदवार घोषणा गर्नुअघि आकांक्षीहरूले नख्खु कारागार पुगेर सभापति लामिछानेलाई भेट्न लागेका हुन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । भैरहवा कारागारमा रहेका उनलाई केही समयअघि मात्रै नख्खु सारिएको थियो । रास्वपाले आकांक्षीहरू मध्येबाट आजै एक जना उम्मेदवार घोषणा गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक पछि साँझ पाँच बजेसम्म उम्मेदवार घोषणा गर्ने तयारी रास्वपाको छ ।
रास्वपाबाट रुपन्देही–३ मा उम्मेदवार बन्न ९ जना आकांक्षी छन् । पार्टीले ७ देखि २१ साउनसम्म उम्मेदवार बन्न आवदेन माग गरेकोमा ९ जना छनोट भएका थिए । छनोट भएका आकांक्षीहरुमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, रुपन्देही–३ का क्षेत्रीय सभापति मधु अर्याल, भैरहवाकी पुनमकुमारी अग्रवाल, बुटवल सेमलारका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता र रचना क्षेत्री छन् । कुसुम, मधु र सुलभबाहेक ६ जना भैरहवाका हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)