Logo बिहिवार, आश्विन १ गते २०८३
images

विप्लव, जनार्दन र घनश्यामको निश्कर्ष –‘कम्यूनिष्ट पार्टीहरुमा धुव्रीकरण जरुरी’

विप्लव, जनार्दन र घनश्यामको निश्कर्ष –‘कम्यूनिष्ट पार्टीहरुमा धुव्रीकरण जरुरी’

  • 1.4K
    SHARES

  • विप्लव, जनार्दन र घनश्यामको निश्कर्ष –‘कम्यूनिष्ट पार्टीहरुमा धुव्रीकरण जरुरी’

    बुटवल , भदौ १२ । 

    नेपालका तीन कम्यूनिष्ट पार्टीका नेताहरुले वामपन्थी कम्यूनिष्ट पार्टीहरुमा धुव्रीकरण जरुरी रहेको बताएका छन् । देशमा देखिएको निराशा र छटपटीबाट मुलुकलाई अगाडि बढाउन र वर्तमान राजनीतिक संकट समाधानका लागि बलियो कम्यूनिष्ट पार्टी निर्माणमा जुट्नुपर्ने बताएका हुन् ।
     
    सहिद वेपत्ता स्मृति प्रतिष्ठान नेपालले विहिबार बुटवलमा गरेको वर्तमान राजनीतिको संकट र निकास बिषक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।

    भ्रष्टाचारकै कारण जनता निराश भए, अब बहस गरौं : विप्लव

    कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले भ्रष्टाचारले नेपाल खाइसकेको बताए । उनले भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थलमा एकै दिन ५० लाख घुस खाने गरिएको प्रसंग उल्लेख गरे । 

    ‘हामीले रमेश लेखकलाई कांग्रेसभित्रको बुद्धिजिवी ठानेका थियौं, तर उहांमाथि नै दैनिक ५० लाखसम्म घुस बुझाएको उहांकै कर्मचारीले आरोप लगाएको देखियो नि’–विप्लवले भने–‘यस्तै घुस र भ्रष्टाचारका घटनाहरु अन्य धेरै क्षेत्रमा भएका छन् बाहिर आइरहेका पनि छन् ।’ उनले उपप्रधानमन्त्री भइसकेका नारायणकाजी श्रेष्ठले न्यायलयमा पैसाविना केही नहुने भनेर दिएको अभिव्यक्तिले देशको अवस्था झल्काएको बताए । उनले मुलुकमा देखिएको वर्तमान समस्या दलाल पूजीँवादी संरचना भएको बताए । 

    उनले नेपाली राजनीति गणतन्त्र प्राप्तीपछि कुन वर्ग, कुन विचार र कुन नेतृत्व भन्ने टुंगोमा नपुग्दा आएको बताए । उनले गणतन्त्रसम्मको परिवर्तनलाई आत्मसाथ गर्दै यसपछिको नेतृत्वको पुर्नगठन जरुरी रहेको बताए । उनले नेपाली समाजलाई अगाडि बढाउन सच्चा, इमान्दार कम्यूनिष्ट पार्टीले नै नेतृत्व गर्नुपर्ने बताए । ‘आजको संकटको कारण गणतन्त्रको अर्थतन्त्रमा परिवर्तन नआउनु हो’ उनले भने  ।
     
    उनले वर्तमान संकटबाट समाधान गर्नका लागि आफूहरुले एउटा बहसको थालनी गरेको बताए । उनले आफू सहित तीन जनाले काठमाडौंमा बहस गरेपछि देशभर तरंग पैदा गरेको बताउँदै बुटवलको यो छलफललाई पनि चासोका साथ हेरिएको बताए । ‘यो बहस के हो रु नयाँ पार्टी बनाउने हो की ? भनेर जिज्ञासा राखेको पाईन्छ’ महासचिव विप्लवले भने–‘यो यति हो भनेर भन्न सकिदैन, ८–१० वटा अन्तरक्रियापछि सकिन पनि सक्छ।’उनले अहिलेको बहस व्यक्तिको नभई मुलुकको आवश्यकताले सृजना भएको बताए । 

    उनले नेपालको कम्यूनिष्ट आन्दोलन दिग्भ्रमित भएकाले दिग्दर्शन गर्नका लागि आफूहरुले छलफलको सुरुवात गरेको बताए । उनले एकता, उज्यालो र श्रमिक जनताको चाहनाको बाटो पहिल्याउने अन्तरक्रिया भएको बताए । उनले नेपाली बिशेषताको समाजवाद आवश्यक रहेको बताए ।

    कम्यूनिष्ट पार्टी पर्नगठन गरौं : जनार्दन शर्मा

    यस्तै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कम्युनिष्ट पार्टीहरुको पुनर्गठन आवश्यक रहेको बताए । उनले अहिलेका कम्यूनिष्ट पार्टीहरुले जनताको मुद्धा नउठाएकाले अब वाम पार्टीहरुविच पुनर्गठन हुनुपर्ने आवश्यकता औल्याए ।‘दलहरु जनताका मुद्धामा स्पष्ट भएनन्, नीतिहरु प्रष्ट भएनन्, बरु अप्रष्ट, अलमल भए’ उनले भने –‘दलहरुमा लोकतन्त्र पनि छैन, गरिबि बेरोजगारी अन्त्य गर्ने बहस पनि छैन ।’ शर्माले पार्टी नेतृत्वले पार्टीमा आफ्नो जयजयकार गर्ने जमात मात्र तयार गरेको तर लोकतन्त्रको अभ्यासमार्फत विज्ञहरुको टिम बनाउन नसकेको बताए ।
    दलहरुमा सुशासनर पारदर्शिता पनि नभएको,चुनौति सामना गर्ने क्षमता पनि नभएको शर्माले बताए । कम्युनिष्ट पार्टीको पुनर्गठन संगै आर्थिक प्रणाली पनि पुनःसंरचना गर्न अपरिहार्य भएको उपमहासचिव शर्माको भनाई छ ।
      
    लोकतन्त्र जनताको भएन, दलाल पुंजिवादकी र भ्रष्टहरुको भयो’–शर्माले भने–‘४७ लाखदेखि ५० लाख युवा देशमा रोजगारी नपाएर खाडी राष्ट्रमा छन्,खेतहरु बांझो छन्,वनजंगल,प्राकृतिक स्रोत साधनको सही सदुपयोग भएको छैन,यी साधनमाथि दलाल पुंजिवादीको कब्जा छ ।’

    मुलुकका आर्थिक नीति पञ्चायतकालीन शैली नक्कल गरेर दलाल पुंजिवादले कब्जा गरेको शर्माको आरोप छ ।  नेता शर्माले माओवादी केन्द्र र एमालेबीच एकता भएर नेकपा भएपछि उत्साह जागेपनि विघटनपछि निराशाको श्रृंखला शुरु भएको टिप्पणी गरे । कम्युनिष्ट नेताहरुले लोकतन्त्र र समाजवादको भाषण गरेपनि व्यवहार ठीक उल्टो भएको बताए ।
    ‘किसानले मल,बिउ,सिंचाई, उचित मूल्य र बजार पाएका छैनन्,शिक्षा, स्वास्थ्य, रोजगारी राज्यको दायित्वमा छैन’–शर्माले भने–‘दलाल पुंजिवादले सबैतिर कब्जा गरेको छ,मुलुक भ्रष्टाचारमुक्त छैन,संविधान पनि पूर्ण कार्यान्वयन भएन ।’


    घुस नखानेहरुको क्रान्तिकारी पार्टी आवश्यक : घनश्याम भुसाल

    यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने नेताको कम्यूनिष्ट पार्टी आवश्यक भएको बताए । उनले नेपालमा कम्यूनिष्ट पार्टीहरु दलाल पूजीवादको कब्जामा रहेको उल्लेख गर्दै अब जनतामा देखिएको निराशा र छटपटी चिर्न सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्यूनिष्ट पार्टी चाहिएको बताए ।
    भुसालले नेपालमा व्यवस्था र संविधान बदलिएपनि दलहरुको ढाँचा, संरचना र तरिका उस्तै रहेको बताए । यी कुराहरु नबदलिदा राजाकै पालादेखिको दलाल पूजीँवाद प्रभावमा दलहरु फसेको उनले टिप्पणी गरे । भुसालले राजनीतिक रुपमा नेपाली जनतामाथि भयंकर अत्याचार भएको समेत बताए । ‘जनतामा विकल्प छैन, सत्ता, सरकार, प्रधानमन्त्री, नेताहरुको गुटले जनतालाई धेरै अपमानित गरेको छ, झुटबाट मान्छे तरंगित छ’ भुसालले भने –‘म त भन्छु समाज बौलाएको छ, यसबाट निकास दिन अब धु्रविकरण जरुरी छ ।’ उनले मुलुक वर्तमान छटपटीबाट नयाँ इतिहास बनाउने प्रसव पिडामा रहेको बताए ।
    उनले वामपन्थी आन्दोलनलाई धु्रवीकरण गर्नुपर्ने बेला आएकाले आफूहरु वर्तमान राजनीतिको संकट र निकासबारे बहसमा आएको बताए । परिस्थिती धेरै पाकिसकेको बताउँदै उनले अब केन्द्रदेखि वडासम्मै वामपन्थी धुव्रिकरण आवश्यक रहेको बताए । उनले पुरानोले काम नगरेको तर नयाँ नबसिकेकोले सर्पले काँचुली फेर्ने अवस्थामा जस्तै छटपटी भएकाले नयाँ इतिहास बनाउन बहस जरुरी रहेको बताए । ‘पुराना मान्यता भत्केका छन्, तिनका नालयी भत्केका छन्’ उनले भने ‘स्वार्थ र भ्रमहरु भत्काएर नयाँ मानक बनाउनुपर्छ ।’  उनले क्रान्तिको लागि कसम खाएको व्यक्तिको हिसाबले सपनाले थिचिएर ऐठन हुने अस्थामा आएको बताए । माओवादीभित्र जनयुद्ध र एमालेभित्र बहुदलीय जनवादको संकल्प दलाल पूजीवादको भित्तामा ठोक्किएर घाईते भएकाले मुलुकको भाग्य र भविष्यका लागि एकजुट भएको बताए ।  ‘मूलभूतरुपमा युद्ध र शान्तिपूर्ण हुकाई र अनुभवको विभाजन छन्, त्यो वाहेक अरु कृत्रिम नक्कली लक्ष्मण रेखाहरु भत्काउनुपर्छ’ भुसाले भने ।
    उनले पछिल्लो समय नेकपाका महासचिव विप्लव, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले बहस र छलफल गरेको प्रसंगमा आफूहरु कुनै नयाँ पार्टी बनाउनका लागि बहसमा नआएको बताए । ‘तीन जना मिलेर अलग पार्टी बनाउने होईन, अर्को पार्टी बन्दैन’भुसालले भने–‘हामीले सहि सिद्धान्त बुझाउने र विभाजन नभई जुटाउने अभिायनमा छौं ।’ उनले उनले समाजमा उकुसमुकुस तिव्र रुपमा रहेकाले विमर्श जरुरी रहेको बताए । उनले देउवा, ओली, प्रचण्ड, माधव नेपालदेखि रविसम्मा असन्तुष्टि रहेकाले अब नयाँ निकास आवश्यक रहेको बताए । उनले वर्तमान राजनीतिमा देखिएको समस्याबारे साउन ६ गतेदेखि बहस सुरु भएकोे बताउँदै बुटवलमा आएपछि यसले गती लिने विश्वास व्यक्त गरे । ‘हामी तीन जनाले मात्रै गर्नुपर्छ भन्ने रहेन, कम्यूनिष्ट आन्दोलनमा चिन्तितहरुले माथिदेखि वार्डसम्म बहस गरौं’ भुसालले भने ।
    कार्यक्रमको बिषयमाथि प्रकाश पार्दै सहिद बेपत्ता स्मृती प्रतिष्ठान नेपालका अध्यक्ष बसन्त सिले केन्द्रदेखि तल्लो तहसम्म भ्रष्टाचारले गर्दा राजनीतिप्रति नै घृणा पैदा भएकाले राजनीतिक समस्याको निकास खोज्नुपर्ने बेला आएको बताए । उनले जनतामा देखिएको निराशा र वर्तमान राजनीतिको संकटको निकासबारे युवा नेताहरुको सहभागितामा अन्तरक्रियाले दिशानिर्देशन गर्ने आशा व्यक्त गरे । उनले सहदि तथा वेपत्ता परिवारहरुको सवालमा काम गर्ने उदेश्यले स्थापना भएको बताए । कार्यक्रममा प्रतिष्ठानका शरद वली र विरेन्द्र सिले लगायतले बोलेका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology