भैरहवा, भदौ ८ ।
लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले उद्योगी–व्यवसायीको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
उहाँले आर्थिक संकट नेपालमा मात्र नभइ विश्वमा आएको तर, निराश भइहाल्ने अवस्था भने नभएको बताउनुभयो ।
भैरहवामा चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को १८ औं वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै मन्त्री पाण्डेयले उद्योगी–व्यवसायीको समस्या आफूले राम्रोसँग बुझेको बताउनुभयो । उहाँले नाम र दाम दुवै कमाउन नेपालमै काम गरौं भन्ने मान्यता स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले उमेर मात्र नभइ विचारले युवा हुनुपर्ने उल्लेख गर्नुभयो । खेलकुदको क्षेत्रमा सरकारले खासै लगानी गर्न नसके पनि नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शनमार्फत नेपाललाई विश्वमै चिनाएको उहाँले बताउनुभयो ।
उहाँले नेता आफू झुपडीमा बसेर जनतालाई महलमा बसाल्नुपर्ने बताउनुभयो । ‘सफलता भनेको सन्तुष्टी हो, ’उहाँले भन्नुभयो । उहाँले बेलहियामा प्रदेश सरकारले लिइरहेको रुट इजाजत दस्तुरबारे आफूले मन्त्रीपरिषदमा कुरा उठाउने बताउनुभयो ।
उहाँलेउहाँले पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हुने बताउनुभयो । ‘२ हजारको जरिवाना काट्नु भन्दा पर्यटकलाई पाँच लाख खर्च गर्ने वातावरण बनाउनुपर्छ, प्रकृतिले पर्यटनका लागि बनाइदिएको राष्ट्र नेपाल हो, ’उहाँले भन्नुभयो ।
कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले लगानीकर्ताहरुले लगानी गर्ने चाहना हुँदाहुँदै पनि राज्यको नीति, नियम, कानून, कार्यान्वयन तथा सञ्चालन उद्योगी–व्यवसायीमैत्री नभएको कारणले नैराश्यता छाएको बताउनुभयो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपाल सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेको बताउनुभयो । चेम्बर अफ कमर्स, रुपन्देहीका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले उद्योगी–व्यवसायीका समस्या कसलाई सुनाउने भन्दै प्रश्न गर्नुभयो ।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले उद्योगी–व्यवसायी अहिले घाइते अवस्थामा रहेको बताउनुभयो । नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश प्रसाद अधिकारीले उद्योगको अवस्था कठिन रहेको बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले व्यवसाय बलियो हुन नसकेको बताउनुभयो ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका लागि नगरपालिकाले धेरै पहल गर्दै आएको बताउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले विमानस्थल नचल्दा निजी क्षेत्रको अरबौं लगानी डुब्ने अवस्थामा पुगेको बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले देशको अर्थतन्त्र सबल र यसलाई लयमा ल्याउन राजनीतिक नेतृत्व गम्भिर हुनुपर्ने बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष सचिन रोक्काले संघीय सरकारले भारतबाट अस्थायी रुपमा प्रवेश गर्ने सवारीसाधनको रुट इजाजत दस्तुर खारेज गर्ने निर्णय गरे पनि बेलहियामा प्रदेश सरकारले लिइरहेको भन्दै यसले पर्यटन क्षेत्रमा असर पुगिरहेको बताउनुभयो ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा आजीवन सदस्य, उद्योगी–व्यवसायी, पत्रकार, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)