बुटवल,साउन ३१ ।
बुद्ध सामुदायिक टेलिभिजन १८ औं बर्षमा प्रवेश गरेको छ ।शान्तिका लागि सञ्चार अभियानद्धारा संचालित टेलिभिजन बिस २०६५ सालको ‘श्रीकृष्णजन्माष्टमी’ का दिन स्थापना भएको थियो । टेलिभिजनको प्राङ्गणमा आज एक कार्यक्रमकाबीच १७ औं वार्षिकोत्सव समारोह उद्घाटन गरिएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पुर्व मुख्य न्यायाधिवक्ता डा. बुद्ध बहादुर थापाले मोफसलमा रहेर १७ बर्षसम्म अनवरत रूपमा टेलिभिजन सञ्चालन गर्नु आफैमा महत्वपुर्ण भएको भन्दै गैर नाफामुलक सामुदायिक संचार माध्यमलाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो ।
पछिल्लो समय मिडियाहरूले राज्यको माया र सद्भाव पाउन नसकेको अनुभुती गरेको भन्दै उहाँले राज्य मिडियामैत्री हुनुपर्नेमा जोड दिनुभयो ।
टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले बार्षिकोत्सवको अवसरमा शुभकामना दिदै टेलिभिजनलाई यो अवस्थासम्म ल्याई पुर्याउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सञ्चालक समिति,पत्रकार तथा कर्मचारीहरूप्रति आभार ब्यक्त गर्नुभयो ।
उहाले टेलिभिजनलाइ संस्थागत र ब्राण्डेड बनाउनका लागि सबैको योगदान रहेको भन्दै सरोकारवाला सबैलाइ धन्यवाद दिनुभयो ।
टेलिभिजनका उपाध्यक्ष समेत रहनुभएका राष्ट्रिय टेलिभिजन प्रसाण संघ लुम्बिनी प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले समुदाय स्तरबाट सञ्चालित सामुदायिक टेलिभिजनहरूलाई राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाले लोककल्याणकारी बिज्ञापनको दर बढाएर सबै तहका सरकारले मिडियासंग सहकार्य गर्नुपर्ने बताउनुभयो । टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइयो )एवं समाचार प्रमुख कपिल ज्ञवालीले आगामी दिनमा टेलिभिजनका कार्यक्रम तथा समाचारलाई अझै परिस्कृत गर्दै लैजाने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
उहांले टेलिभिजनले समाजमा शान्ति, सद्भाव र निष्पक्ष पत्रकारिताको सन्देश फैलाउँदै समुदायको आवाजलाई विश्वमाझ पुर्याएको र समस्त दर्शक, शुभचिन्तक, विज्ञापनदाता ,शुभेच्छुक र सम्पूर्ण टिमको साथले यो उचाइ सम्भव भएको बताउनुभयो ।
ज्ञवालीले आगामी दिनमा पनि समाज रुपान्तरण, सत्य ,तथ्य र न्यायको पक्षमा टेलिभिजन सधै अडिग रहने बताउनुभयो ।
सो अवसरमा कार्यक्रम सञ्चालक ज्योतिष पण्डित चेतनारायण सुवेदीले कृष्ण जन्माष्टमी पर्वको बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा टेलिभिजनका पदाधिकारी ,कार्यसमिति सदस्य,सल्लाहकारहरू,कर्मचारीहरूको सहभागिता रहेको थियो । टेलिभिजनले एकहप्ताभर बिभिन्न रचनात्मक कार्यक्रम गर्ने जनाएको छ ।
हाल २४ सै घण्टा देशभर प्रशारणमा रहेको टेलिभिजन सामाजिक सञ्जालमार्फत् विश्वभर समेत हेर्न सकिन्छ ।बुटवल ९ चौराहास्थित प्रधान कार्यालय रहेको टेलिभिजनको संघिय राजधानी काठमाडौंमा समेत सम्पर्क कार्यालय रहेको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)