Logo मंगलवार, श्रावण १२ गते २०८३
images

तेस्रो पटक क्यूएए प्राप्त गरेको लुम्बिनी वाणिज्य क्याम्पसद्वारा बुटवलमा प्रभात फेरी

तेस्रो पटक क्यूएए प्राप्त गरेको लुम्बिनी वाणिज्य क्याम्पसद्वारा बुटवलमा प्रभात फेरी

  • 1.1K
    SHARES

  • तेस्रो पटक क्यूएए प्राप्त गरेको लुम्बिनी वाणिज्य क्याम्पसद्वारा बुटवलमा प्रभात फेरी

    बुटवल,साउन २८ ।

    बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालबाट तेस्रो पटक गुणस्तर सुनिश्चितता तथा प्रत्ययन (क्यूएए) प्राप्त गरेको अवसरमा बुटवलमा प्रभात फेरी कार्यक्रम गरेको छ  ।

    क्याम्पस प्राङ्गणबाट सुरु भएको प्रभात फेरी तीनकुने, ईटाभट्टी, पुष्पलाल पार्क, मिलनचोक, राजमार्ग चौराह, कालिका चोक, होराईजन चोक हुँदै क्याम्पस प्राङ्गणमा आएर समापन भएको थियो ।

    प्रभात फेरीमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्याय, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्याल, विभिन्न सङ्घसंस्थाका अध्यक्ष एवं प्रतिनिधि क्याम्पस सञ्चालक समितिका सदस्यहरू, क्याम्पसका प्रधानाध्यापक, विद्यार्थी, अभिभावक एवं शुभचिन्तकहरूको उपस्थिति रहेको थियो ।

    लुम्बिनी वाणिज्य क्याम्पसका क्याम्पस प्रमुख प्राडा ताराप्रसाद उपाध्यायले लगातार तेस्रो पटक सम्म क्यूएए प्राप्त गर्ने वाणिज्य क्याम्पस नेपालमै पहिलो भएको बताए । उनले क्याम्पसलाई विश्वविद्यालय बनाउने गरी योजना बनाएको समेत बताए ।

    क्याम्पसले क्यूएए प्राप्त गर्नु अघि अन्तिम चरणको मूल्याङ्कन गर्न विदेशी विज्ञ सहितको पूर्ण परीक्षण भ्रमण टोली २०८१ पौष २२ गतेदेखि २६ गतेसम्म १२० सूचकभित्र रहेर सरोकारवालाहरू सङ्ग छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको थियो ।

    विश्वविद्यालय अनुदान आयोग नेपालको टोलीले क्याम्पसमा अध्ययनरत विद्यार्थी, कार्यरत कर्मचारी, प्राध्यापनरत प्राध्यापक, अभिभावक, क्याम्पस सञ्चालक समिति, स्ववियु, भूपू विद्यार्थी, विभिन्न कार्यक्रमका डाइरेक्टर तथा इन्चार्ज, विभिन्न समूहका संयोजक, विभागीय प्रमुख, रोजगारदाता, स्थानीय समाजसेवी लगायत सरोकारवाला पक्षहरूसँग छुट्टाछुट्टै छलफल तथा अन्तरक्रिया गरी आफ्नो प्रतिवेदन विश्वविद्यालय अनुदान आयोग नेपालको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्ययन परिषद्मा बुझाएको थियो ।

    lbc.jpg

    त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विसं २०३८ सालमा स्थापित यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट पहिलो पटक विसं २०६८ सालमा क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो । त्यस्तै विसं २०७५ सालमा पुनः दोश्रोपटक क्यूएए प्रमाणपत्र प्राप्त गरेको थियो भने विसं २०७५ र विसं। २०८० सालमा सर्वोत्कृष्ट सामुदायिक क्याम्पसको रूपमा नेपाल सरकारबाट पुरस्कृत भएको थियो । त्यस्तै क्याम्पस विसं २०७६ सालमा लुम्बिनी प्रदेश, प्रदेश प्रज्ञा पदक द्वितीयबाट विभूषित समेत भएको थियो ।

    गुणस्तरीय शिक्षामा अब्बल रहेको क्याम्पस पटक पटक विश्वविद्यालय प्रथम, दोस्रो, तेस्रोसमेत हुने गरेको छ भने क्याम्पसले त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक स्वायत्तता अन्तर्गत पाँच वटा स्वायत्त कार्यक्रमहरू सञ्चालन गरेर विश्वविद्यालयको जग तयार पार्ने काम गरिरहेको छ । हाल क्याम्पसमा करिब ४ हजार विद्यार्थीहरू, ४८ जना प्राध्यापक र २५ जना कर्मचारी रहेका छन् ।

    लुम्बिनी वाणिज्य क्याम्पसले पायो तेस्रो पटक क्यूएए मान्यता

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology