बुटवल,साउन २५ ।
रुपन्देहीको बुटवलमा रहेका दुइ धागो उद्योगले जनै र रक्षबन्धनको आयात प्रतिस्थापन गर्ने गरि उत्पादन गरिरहेका छन् ।
जनै उत्पादनका लागि नेपालकै सबैभन्दा पुरानो २०५८ सालमा शुरु भएको राधा धागो उद्योगले यसबर्ष १५ लाख जनै उत्पादन गरेको जनाएको छ ।
बुटवलको राममन्दिर लाइन स्थित राधा धागो उद्योगले २०६१ सालबाट ब्यवसायीक उत्पादन सुरु गरेको उद्योगका सञ्चालक संस्कृत साहित्याचार्य बुद्धि प्रसाद शर्मा पाण्डेयले बताउनुभयो ।
उहाँले केही बर्षयता बजारमा विधि नपुगेको,सरा र शिखा पुरा नभएको,शिखा नभै गाँठोमात्र पारेको गैर ब्राह्मणबाट तयार गरिएका स्वदेशी तथा विदेशी नक्कली जनै प्रयोग भएको पाइएकोले शास्त्रीय विधिपूर्वक तयार गरिएका जनै मात्र प्रयोग गर्न आग्रह गर्नुभयो ।उहाँले आफ्नो उद्योगमा जनैधारी ब्राह्मणबाट शास्त्रीय विधिपूर्वक जनै र धागो तयार गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो–“जसरी नक्कली औषधिबाट बिरामी निको हुँदैन त्यस्तैगरि नक्कली जनै लगाएर वा चढाएर फल प्राप्त हुदैन ,केही बर्षयता बजारमा विधि नपुगेको,सरा र शिखा पुरा नभएको,शिखा नभै गाँठोमात्र पारेको गैर ब्राह्मणबाट तयार गरिएका नक्कली जनै छन् ,चिनेर मात्रै विधि अनुसार तयार भएका जनै लगाउनुपर्दछ ।”
बिगतमा ९९ प्रतिशत भारतीय जनै प्रयोग हुदै आएकोमा अहिले त्यो प्रतिशत घटेर १५÷२० प्रतिशतमा झरेको सञ्चालक पाण्डेको भनाइ छ । जनैका साथै उद्योगले रक्षाबन्धन,लाखबत्ती,अनन्त डोरो,बत्ती कात्ने धागो,तथा धागोका बिविध सामग्रीको उत्पादन गर्दै आएको छ । राधा धागो उद्योगले जनैको आयात प्रतिस्थापन गर्नुका साथै चार सय बढीले प्रत्यक्ष रोजगारी पाएको उहाल जानकारी दिनुभयो । उहाँले आफ्ना तीनवटा कम्पनी ,राधा धागो,बैदिक पूजा सामाग्री उद्योग र बैदिक प्रोडक्सबाट गरि बार्षिक ८–१० करोडको कारोबार गरिरहेको दाबी गर्नुभयो ।
आफ्नो उद्योगले जनैको आयात प्रतिस्थापन गर्न थालेपछि रूपन्देही उद्योग संघ,नेपाल सरकार लगायत विभिन्न ब्यवसायीक संघ संस्थाहरूले पनि पुरस्कृत गरेको उहाँको भनाइ छ । उद्योगका बजार ब्यवस्थापक समेत रहेका सञ्चालक पाण्डेका छोरा झंकार पाण्डेले नेपालकै पहिलो जनै उद्योग भएकोले बजारको त्यति समस्या नभएको बताउनुभयो ।

त्यस्तै गरि बुटवलका ज्योतिष जनार्दन न्यौपानेसहितका युवाहरूले स्थापना गरेको हरि ॐ पूजा सामग्री उद्योगले विदेशी आयात कम गर्न योगदान दिन थालेको छ । यस उद्योगले हाल वार्षिक १५ लाख जनै र पाँच टनभन्दा पनि बढी रक्षा बन्धन उत्पादन गर्न थालेको हो ।
न्यौपानेसंगै १५ वर्षसम्म साउदीमा बसेर फर्कनुभएका युवा लोकप्रसाद काफ्ले र सुन्दर भण्डारीको संयुक्त २५ लाख लगानीबाट सुरु भएको यस उद्योेगले धेरैलाई रोजगारी दिन पनि थालेको छ । ज्योतिष न्यौपानेका अनुसार नेपालमा करिब पाँच करोड जनै खपत हुने अनुमान छ, तर स्वदेशमा उत्पादित जम्मा एक करोड रहेको अनुमान छ ।
न्यौपानेका अनुसार जनै बनाउनेको संख्या एक सय २५ जना रहेको छ । “जनै बनाउनका लागि आवश्यक तालिम दिन्छौँ, तालिमपछि सामग्री पनि दिन्छौँ, घरमै बसेर आफ्नो फुर्सदमा बनाएर उहाँहरूले ल्याउनुहुन्छ,” ज्योतिष न्यौपानेले भन्नुभयो ।
“सैनामैना, तिलोत्तमा, कपिलवस्तु, देवदह लगायतका बासिन्दाले जनै बनाउने गर्नुभएको छ, उहाँहरूले घरमै काम गरेर मासिक १५ हजार रुपैयाँसम्म कमाउनुहुन्छ । ”
शास्त्रीय विधि परम्पराअनुसार पूर्ण सरा र शिखा भएका जनै उत्पादन हुने गरेको न्यौपानेले बताउनुभयो । ५४ सरासहितका जनै उत्पादन गरेर नेपाल तथा विदेशमा समेत निर्यात गर्न थालिएको अर्का संचालक सुन्दर भण्डारीले बताउनुभयो ।
१७ वर्ष साउदीमा बिताएका काफ्लेले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताका साथ युवाहरूसँग मिलेर उद्योग स्थापना गरेको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)