बुटवल,साउन २० ।
ग्रामिण बिकास लघुवित्त वित्तिय संस्था लिमिटेडका संस्थापक शेयरधनी महिलाहरुले साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नरसँग उजुरी गरेका छन् ।
संस्थापक शेयरधनी महिलाहरुले संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले अख्तियारीको दुरुपयोग गरि सम्पन्न गरिएको साधारण सभाको निर्णय सच्याउन माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग उजुरी गर्न पुगेका हुन् ।
संस्थापक शेयर सदस्य रहेका महिलाहरुले गत असार २८ गते सम्पन्न दशौं साधारण सभामा गरिएको निर्णय, आफुहरु माथि गरिएको दुब्र्यबहार र अपमानका बिरुद्ध आन्दोलन गर्दै आएका छन् । साधारण सभा परिसरमा भाडाका गुण्डा र हातहतियार सहितका प्रहरी परिचालन गरि सभाहल प्रबेशमा रोक लगाउदा आफुहरुलाई घोर अन्याय र शेयर सदस्यहरुको अवहेलना भएको उनिहरुको भनाई छ ।
विगतमा महिलाहरुको बैंक भनेर चिनिएको यो ग्रामिण लघुवित्तमा संचालक समितिमा कुनैपनि महिला सदस्य नराखिनु, साधारण सभामा संस्थापक शेयर सदस्यहरुलाई खबर नगरिनु, संस्थाले थेग्नै नसक्ने गरि आर्थिक भार पार्नु आदि कारणले संस्था धरासायी भएको र राष्ट्र बैंक समक्ष संस्थालाई बचाइदिन माग समेत गरेको संस्थापक शेयर सदस्य मिना भट्टराईले बताइन ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेललाई भेटेर शेयरधनी महिलाहरुले संस्थाको संचालक समिति र प्रमुख कार्यकारी अधिकृत श्यामकुमार कटुवालले आफुहरु माथि अन्याय गरेको भन्दै आवश्यक छानविन गर्न माग गरेका छन् । गभर्नर पौडेललाई ज्ञापन पत्र बुझाउदै पीडित शेयरधनीहरुले संचालक समिति र प्रमुख कार्यकारी कटुवालका कारण आफुहरु पीडित भएको र उनिहरु उपर छानविन र कारबाहीको आग्रह गर्दै मर्जरको निर्णय खारेजीको माग गरेका छन् ।
यसअघि पीडित शेयरधनिहरुले संस्थाको प्रधान कार्यालय बुटवलमा पुगेर प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवाललाई ध्यानाकर्षण गराएका थिए । लगत्तै नेपाल राष्ट्र बैंक क्षेत्रिय कार्यालय भैरहवा पुगेर ध्यानाकर्षण पत्र बुझाएका पीडित शेयरधनी महिलाहरुले यहाँबाट पनि कुनै सुनुवाई नभएपछि राष्ट्र बैंकको केन्द्रिय कार्यालय पुगेका हुन ।
ज्ञापनपत्रमा तोक लगाउदै गभर्नर पौडेलले आवश्यक छानविन गरि दोषी ठहर भएमा कारबाही गरिने आश्वासन् दिएको संस्थापक शेयरधनी महिला सदस्य कल्पना शाक्यले बताइन । बिभिन्न खालका जालझेल र छलछाम गरि राष्ट्रिय स्तरको लघुबित्त संस्थालाई ३ जिल्ला कार्यक्षेत्र भएको सानो संस्थासँग मर्ज गर्ने निर्णय सान्दर्भिक नभएकोले तत्काल खारेज गर्न माग गर्दै शेयरधनी महिलाहरुले संचालक समितिलाई पनि ध्यानाकर्षण पत्र बुझाएका छन् ।
शेयरधनी महिलाहरुले सर्लाहीको मलंगवास्थित समाज लघुवित्त वित्तिय संस्था लि।सँग गाभ्ने साधारण सभाको निर्णय उचित कारण नदेखिएको भन्दै तत्काल खारेज गर्न अपिल गरेका हुन् । ज्ञापनपत्र बुझाउदै संस्थापक महिला शेयरधनी तथा पुर्व संचालक जमुना ढकालले संचालक समितिले छलछाम र जालसाजी गरि अन्यायपुर्ण ढंगले साधारण सभा गरेको बताईन ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)