काठमाडौं,साउन १४।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको प्रष्टीकरण दिएका छन् ।
बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलको नेताहरूलाई भेट गरेको, तर सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको बताए ।पार्टीको संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने र आफूहरूसँग त्यो संख्या नभएको कोइरालाले बताए ।
कोइरालाले वर्तमान सरकार जनअपेक्षा अनुसार काम गर्न नसकेपनि अर्को सरकार बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने दाबी गरे । नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संविधान संसोधन आवश्यक रहेको जिकिर गरे ।
कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको भएपनि अहिलेसम्म संविधान संशोधनका लागि कार्यदल नबनाएको गुनासो गरे ।
निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोपसमेत लगाए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)