बुटवल, साउन १० ।
गण्डकी महिमालाई विश्वभर प्रचारप्रसार गरी पर्यटन पवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ को तयारी थालिएको छ ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनी क्षेत्र (कालीगण्डकी किनार)मा आगामी असोज २१ गतेदेखि कार्तिक १९ गतेसम्म महामेला हुन लागेको हो ।
रुपन्देहीको तिलोत्तमामा शनिबार आयोजित तयारी भेलालाई सम्बोधन गर्दै स्वामी लोकानन्द महाराजले धर्मोत्सवले नेपालको धार्मिक पर्यटनको विकासमा नयाँ ईट्टा थप्ने बताए । महामेला सम्पन्न गर्न सबैले आआफ्नो ठाउँबाट आबश्यक सहयोग गर्न आग्रह गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले धार्मिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने विचार व्यक्त गरे । महामेलामा देश विदेशबाट आउने गुरु तथा भक्तजनहरुलाई यहाँका अन्य धार्मिक स्थलहरुमासमेत पु¥याउने गरी तयारी गर्नुपर्ने मन्त्री ढकालले बताए ।
गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले धार्मिक स्थललाई पर्यटनसँग जोड्ने गरी प्रदेश सरकारले योजना र कार्यक्रम बनाएर अघि बढेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले महामेलालाई राष्ट्रिय महोत्सवका रुपमा अघि बढाउनुपर्ने धारणा राखे । कार्यक्रम संयोजक रामप्रसाद बश्यालले सबैको सहयोगले मात्र धर्मोत्सव सफल हुनेभन्दै सबैजना महामेलामा सहभागि हुन अपिल गरे । धर्मोत्सवको अवधारणा प्रस्तुत गर्दै ज्योतिष जनार्दन न्यौपानेले धर्मोत्सवले स्थानिय कृषि उत्पादनको बजारिकणमा टेवा पुराउंदै घरेलु तथा साना उद्योगहरुको पनि बजारिकण हुने बताए । 
कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्य कृष्णले केही समय पहिला भारतमा सम्पन्न भएको कुम्भमेलाले देशको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पुर्याएजस्तै महामेलाले पनि नेपालको समग्र अर्थतन्त्रमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
महामेला सम्पन्न गर्न छोटो समयमा आवास गृह, अन्य भौतिक संरचनासँगै स्वागत सत्कार, सुरक्षा, यातायात, भोजन तथा पुजाका सामग्री लगायतको व्यवस्था गर्नुपर्ने भएकोले सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे ।
महामेलामा नेपाल तथा भारतका गुरुहरुको सहभागिता रहने तथा नेपाल सँगै भारतीय भक्तजनलाईसमेत भित्र्याउने गरी तयारी थालिएको प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्य कृष्णजी महाराजले बताए । महामेलामा सहभागी हुने भक्तजनहरुलाई देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ लगायतका तीर्थस्थल दर्शनको व्यवस्थासमेत गर्ने उनले बताए ।
यस्तै, कार्यक्रममा कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानकाका संरक्षक शंकर प्रसाद पाण्डेले गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार व्यक्तिलाई आवास सुविधा हुने गरी धर्मशाला निर्माण गर्ने, घाट व्यवस्थापन गर्ने, एक हजार क्षमताको शभाहल निर्माण, पाठशाला, यज्ञशाला, गौशाला निर्माण गर्ने योजना रहेको बताए ।
यस्तै, पूर्वमन्त्री पद्मा अर्याल, संविधान सभा सदस्य मुक्तिप्रसाद पाठक, गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेय, सुनवल नगरपालिकाका नगर प्रमुख बिमला अर्याल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरूप्रसाद भट्टराई, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेश अध्यक्ष टंक पोखरेल लगायतले आआफ्नो भनाई राख्दै महामेला सम्पन्न गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै आर्थिक समृद्धि हासिल गर्नका लागि आध्यात्मिक बाटो उत्तम हुने आयोजकको दावि रहेको छ । महामेला सम्पन्न गर्न संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, बुटवल उपमहानगरपालिका, गल्याङ नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, रम्भा गाउँपालिका, गैँडाकोट नगरपालिका देवघाट गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, तानसेन नगरपालिका, रामपुर नगरपालिका, बाणगंगा नगरपालिका, चापाकोट नगरपालिका, बगनासकाली गाउँपालिका, कालीगण्डकी गाउँपालिका स्याङ्जा, पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश सहयोगिको भूमिकामा रहेका छन् ।
उत्तरवाहिनी क्षेत्रमा दर्शन तथा स्नान गरेमा सम्पूर्ण पाप नास हुने विस्वास गरीन्छ ।
महामेला अवधिभर ५ अर्ब तुलसीदल, गाईको दूध र गण्डकीजलद्वारा सवालाख शालग्राम भगवानको अभिषेक पूजन, डुंगा एवं स्टीमरद्वारा गण्डकी भ्रमण दामोदर कथा, दीपदान तथा श्रृङ्गारिक आरती, विश्वविख्यात संत एवं गुरुहरुद्वारा आशीर्वचन, उत्तरवाहिनी महास्नान, उत्तरवाहिनी पूजन, तर्पण, परिक्रमा एवम् तीर्थ श्राद्ध, श्रीकृष्णलीला, गौरलीला तथा रामलीला, योग एवं बालसंस्कार प्रशिक्षण, हरिनाम संकीर्तन एवं माता–पिता पूजनको व्यवस्था गरीनेछ ।
साथै राष्ट्रिय लोकभजन प्रतियोगिता, राष्ट्रिय वतृत्वकला प्रतियोगिता, धार्मिक तथा साँस्कृतिक हाजिरीजवाफ, निबन्ध लेखन, कविता र टिकटक प्रतियोगिता सञ्चालन गरीने संकृतिविद् डा.तुलसी प्रभासले जानकारी दिए ।
साथै सन्तहरूको साथमा देशविदेशका वैज्ञानिकहरूले पनि विचार गोष्ठीमा सहभागिता जनाउनेछन् र धर्मको वैज्ञानिकताको प्रसार गर्नेछन् । धार्मिक र वैज्ञानिक दुवै क्षेत्रका मूर्धन्य व्यक्तिहरूले एकै मञ्चबाट विश्वलाई नयाँ सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ ।
भेलाले रुपन्देही, नवलपरासी र कपिलवस्तुमा प्रचारप्रसारका लागि रामप्रसाद बश्याल संयोजक रहनेगरी समिति गठन गरेको छ । जसको सह संयोजकमा शंकरप्रसाद बश्याल, सचिवमा डिल्लीनारायण पाण्डे, कोषाध्यक्षमा शोभाखर भण्डारी लगायत रहेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)