बुटवल,साउन ५ ।
बुटवल १२ स्थित नयाँगाउँमा रहेको मुक्तिनाथधाममा साउनको पहिलो सोमबार जलार्पण गर्नेहरुको भिड लागेको छ । आज एकादशी पनि परेकाले भक्तजनको धेरै भिड देखिएको हो । साउन महिनामा भगवान् शिवको पूजा तथा आराधना गरी महिनाभरि नै मनाउने गर्दछन् ।
साउन महिना भगवान शिवजीको प्रिय महिना रहेको भन्दै धामको विकासका लागि सबैको सहकार्य जरुरी रहेको धारणा राखे ।
साउनको पहिलो सोमबार तथा एकादशीको अवसरमा भएको रुद्धाभिषेक आरतीमा धामका संरक्षक लोकानन्द स्वामी, बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेय, प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, प्रहरी प्रमुख प्रदिपबहादुर क्षेत्रि, बुटवल १२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्मा आचार्य,इलाका प्रहरी कार्यालय बुटवलका डिएसपि इन्द्र राना,नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारी ,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले मुक्तिनाथधाम बुटवलको पहिचानको रुपमा रहेको बताए । बुटवल आर्थिक र शैक्षिक रुपमा अब्बल रहेको बताउँदै प्रमुख पाण्डेयले बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने पँचुर सम्भावना रहेको र वार्षिक ५० लाख पर्यटक भित्राउन सकिने बताए।
बुटवललाई धार्मिक पर्यटनको केन्द्र बनाइ मुक्तिनाथधामलाई सूचना केन्द्र बनाउन सकिने प्रमुख पाण्डेयले बताए । बुटवललाई आवश्यक पर्ने धार्मिक पूर्वाधारको तयार गर्नका लागि आफु सक्रिय रुपमा लागिरहेको प्रमुख पाण्डेयले बताए।यस्तै प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले गौतमबुद्धको जन्मस्थलसँग नजिक भएकाले पनि बुटवललाई पर्यटनको केन्द्र बनाउन सहज रहेको बताए ।
कार्यक्रम संयोजक गोपाल पाण्डेयले मुक्तिनाथधाममा दर्शन गर्न आउनेहरु भक्तजनहरुका लागि सहज रुपमा पुजाआजा गर्ने व्यवस्था मिलाइएको बताए ।आज एकादशी पनि परेकाले विगतका वर्षभन्दा साउनको पहिलो सोमबार भक्तजनहरुको भिड बढी रहेको बताए ।
साउने सोमबारको दिन शिवको पूजा गर्दा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।यही विश्वासका साथ साउनमा परेका सोमबार भगवान् शिवको पूजाअर्चना र उपवास बस्ने परम्परा छ। त्यसैले श्रद्धालु शिवालय पुगी पूजा आराधना गर्छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)