काठमाडाैँ,साउन ४ ।
कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्व अनुगमन अधिकृत समातिएका छन् ।
पक्राउ पर्नेमा राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंको टोखाबाट पक्राउ गरेको बताइएको छ ।
उनीमाथि बैंक समस्यामा पुगिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएर अवस्था ठिक रहेको प्रतिवेदन बुझाएको आरोप छ ।
बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप बस्नेतमाथि छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच यो विषयले तनाव सिर्जना गराएको थियो ।
प्रहरीले भारतबाट कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरेर ल्याइसकेको छ ।त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरूसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए ।
यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो । यो ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरूको भनाइ छ ।
कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)