Logo मंगलवार, श्रावण १२ गते २०८३
images

८ वटा जटिल रोगका बिरामीलाइ उपचारमा दुई लाख सुविधा दिइने,साउन १ बाट लागु हुने

८ वटा जटिल रोगका बिरामीलाइ उपचारमा दुई लाख सुविधा दिइने,साउन १ बाट लागु हुने

  • 1.0K
    SHARES

  • ८ वटा जटिल रोगका बिरामीलाइ उपचारमा दुई लाख सुविधा दिइने,साउन १ बाट लागु हुने

    काठमाडौं, असार २५।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूले अब पहिलेको तुलनामा दोब्बर उपचार सहायता प्राप्त गर्ने बताएका छन्। ८ वटा जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख थप गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने मन्त्री पौडेलको भनाइ छ।

    ‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ  साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखसम्मको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलका अनुसार अब क्यान्सर, मुटु, मिर्गौला, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया,पार्किन्सोनिजम र अल्जाइमरका बिरामीले यो सुविधा प्राप्त गर्न सक्नेछन्।मन्त्री पौडेलले आठ जटिल रोगका बिरामीलाई राहत हुने हिसाबले रकम वृद्धि गर्ने घोषणा गरेका थिए। सोहीअनुसार मन्त्रालयले स्वास्थ्य बिमा बोर्डलाई पत्राचार गरेको थियो।

    मंगलबार राती बसेको बोर्ड बैठकले ८ वटा जटिल रोगीलाई २ लाख उपचार खर्च दिने निर्णय गरेको कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले जानकारी दिए।उनका अनुसार साउन १ गतेबाट यो निर्णय लागु हुनेछ।

    मन्त्री पौडेलले यसअघि स्वास्थ्य बीमाका सदस्यले आफू बसेकै ठाउँबाट उपचार लिन मिल्ने गरी प्रथम बिन्दु कायम गर्ने तथा हरेक तहमा बिमा सुविधा लिन सक्ने गरी नीतिगत निर्णय गरेका थिए।‘स्वास्थ्य बिमालाई थप परिस्कृत गर्दै आम नागरिकको पहुँच अभिवृद्धि गराउन हामी निरन्तर प्रयत्नशील छौं,’ मन्त्री पौडेलले भने।

    मन्त्री पौडेलले स्वास्थ्य बिमाबाट उपचार सहायता वृद्धिसँगै स्वास्थ्य बीमा कोषको आयस्रोत बढाउने नीतिगत निर्णय पनि गरेका छन्। हालैको नीति तथा कार्यक्रममार्फत सबै सरकारी तथा संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउने उल्लेख छ।

    स्वास्थ्य बीमा ऐनमा भए पनि लागू नभएको यस व्यवस्थाले आवद्धता वृद्धि भइ कोषमा हुने आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ। यसका अलावा वैदेशिक रोजगारीमा गएका तथा उनीहरुका परिवारलाई समेत स्वास्थ्य बीमामा आबद्ध गराउन मन्त्रालयको पत्राचारपछि सरकारका विभिन्न मन्त्रालयहरुले स्थानीय तहसम्मै प्रयास थालेका छन्।

    साथै नयाँ बजेटमार्फत बिमा बोर्डको बक्यौता शून्यमा झार्ने घोषणा सरकारले गरिसकेको छ।संघीय अस्पताल विकास समितिको आम्दानीको १ प्रतिशत स्वास्थ्य बीमा कोषमा पठाउने निर्णय मन्त्री पौडेलले गरिसकेका छन्।प्रगतिशील करमार्फत स्वास्थ्य बीमा कोषमा जाने रकम बढाउने समेत मन्त्री पौडेलले घोषणा गरेका छन्।

    सरकारले वितरण गर्ने उपचार सहायतासमेत स्वास्थ्य बिमा कार्यक्रममार्फत वितरण गरेर धेरै नागरिक आबद्ध हुने गरी काम भइरहेको छ।बीमा बोर्डले अनियमित रुपमा भुक्तानी माग्ने केही अस्पतालहरूलाई कारबाही गरेको छ भने निगरानी बढाउन आफ्नो प्रणालीमा सुधार समेत गरिरहेको कार्यकारी निर्देशका काफ्लेले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology