बुटवल,असार २२ ।
कुरो ५ वर्षअघिको हो । जनज्योति माविमा अध्ययनरत रुपन्देहीको तिलोत्तमा नगरपालिका –४ डिंगरनगरकी मनिषा श्रेष्ठ विद्यालयमै महिनावारी भइन् । बेलैमा थाह नहुदा रगत लुगा हुदै कुर्सीसम्म सर्यो । यसले असाध्यै अफठेरो लाग्यो । उनी विरामी भएको बहाना बनाएर घर फर्किन । त्यसपछिका दुई दिन विद्यालयमै आइनन ।
अहिले भने जनज्योति माविका छात्रालाई त्यस्तो समस्या छैन । छात्राहरु महिनावारी भए विद्यालयमै प्याड पाउछन । प्याड पयोग गर्छन । महिनावारीसित सम्बन्धित पेट दुख्दा होस वा अरु कारण उनीहरु विद्यालयमै उपचार पाउछन ।
लुम्बिनी प्रदेश सरकारले विद्यालयमा नर्सको व्यवस्था गरेपछि छात्राहरु लाभान्वित भएका हुन् । महिनावारीका बेला रगत व्यवस्थापन गर्न सहज भएको छ । अहिले तल्लो पेट दुख्ने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता समस्या पनि विद्यालयकी नर्स प्रतिष्ठा तिवारीे (घिमिरे)ले सघाउने गरेकी छन ।
कक्षा ८ मा पढ्ने पूर्णिमा छन्त्यालले विद्यालयमा प्याड र पाथमिक उपचार पाएपछि निकै सहज भएको बताइन । ‘अहिले त स्कुलमै सबै सुविधा छ,प्याड किन्न परेको छैन । सामान्य पेट दुख्यो, ज्वरो आयो भनेपनि औषधी पाइन्छ ।’ पूर्णिमाले भनिन् ।
विद्यालयकी नर्स तिवारीले विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने र प्राथमिक उपचार गर्ने बताइन । उनले घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको उपचार गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घरोग लागेका विद्यार्थीको कार्ययोजना बनाई स्वास्थ्य सेवा प्रदान गर्छिन् ।
यसबाहेक स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था र मापदण्डअनुसार भए-नभएको यकिन गर्ने लगायतका काम गरिरहेको तिलोत्तमा ४ मा रहेको जनज्योति माविमा कार्यरत नर्स तिवारीेले बताइन् ।यस कामका लागि उनीहरूलाई नियुक्तिपछि ४ दिन प्रशिक्षण दिइएको थियो ।
जनज्योति माविमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम विसं २०७७ साल कात्तिकबाट विद्यालयमा लागू भएको हो प्रधानाध्यापक बाबुाराम आचार्य भन्छन्, ‘विद्यालय नर्स कार्यक्रमले महिनावारीका कारण विद्यालय नआउने छात्रा घटेका छन् । रुवा ज्वरो, पेट दुख्ने जस्ता समस्या देखिने छात्रछात्राहरु पनि विद्यालय गए उपचार हुन्छ भनेर नियमित आउन थालेका छन् ।’ प्रधानाध्यापक आचार्यका अनुसार विद्यालयमा नियमित आउने विद्यार्थीको संख्या बढेको बताए । नर्सले उपचार मात्र होइन प्राथमिक स्वास्थ्यबारे पनि सिकाउदा विद्यार्थीहरु आफ्नो स्वास्थय र सरसफाइमा सचेत हुन थालेका छन् । अन्य शिक्षक नहुँदा र आवश्यक पर्दा परामर्श कक्षाहरु समेत नर्सहरुले हेरेर सहयोग पुगेको छ ।
बालबालिकाको पहिलो पाठशाला विद्यालय हो । तर, ज्ञान सिक्ने पहिलो माध्ययम विद्यालय हो । उनीहरु सक्रिय हुने धेरै समय पनि विद्यालयमै बिताउछन् ।त्यसैलेविद्यार्थीमा आउने सामान्य चोटपटक र समस्याको स्वास्थ्य उपचारमा विद्यालयका नर्सहरुको भूमिका ठूलो छ ।
टिकुलीगढ माविमा हेरौ । यहाकी नर्स सृजना पाण्डेले स्वास्थ्यउपचार मात्र होइन विभिन्न समयमा कक्षा कोठामा गई विद्यार्थीलाई आवश्यक स्वास्थ्य परामर्शसमेत दिन्छिन् । विद्यालयमा भैपरी हुने र प्राथमिक उपचार पाइने भएपछि विद्यालय गयल हुने विद्यार्थी घटेका छन् । परामर्शले किशोर उमेरका छात्रछात्राहरु लाभान्भित भएका छन् ।
महिनावारी हुदा विद्यालयनआउने छात्रा विद्यालय आउन थालेको नर्स सिर्जनाले बताइन्् ।‘महिनावारीमा छात्राहरु विद्यालय नआउने कारण रगत व्यवस्थापनमा समस्या र पेट दुख्दा औषधी नहुनु हो ।’ उनले भनिन्, ‘म आएपछि उनीहरुलाई आवश्यक पर्दा प्याड उपलब्ध गराउने, पेट दुखे औषधी दिने र आराम गराउने गरिएको छ । विद्यालयमै स्वास्थ्य केन्द्रमा जस्तो सुबिधा भएपनि कुनैपनि छात्रा महिनाबारीमा घर बस्दैन् । विद्यालय नै आउछन् ।’
विद्यालयमा कार्यरत नर्सहरुले पनि शिक्षिकाले झैँ विद्यार्थीलाइ माया गर्ने गरेको विद्यार्थी प्रेरणा पौडेलले सुनाइन् । ‘हरेक समस्या दिदीले जस्तै सोधेर समाधान गरिदिनुहुन्छ ।’ उनले भनिन् । टीकुलीगढ माबिमा साढे ६ सय बिद्यार्थी छन् । त्यसमामधेशी,थारु समुदायका बढि बिद्यार्थी रहेका छन् ।
विद्यालयका प्रधानाध्यापक शंकरदत्त उपाध्यायले नर्स कार्यक्रमले विद्यालय र बिद्यार्थीलाइ लाभै लाभ भएको बताउछन् । उनले भने, ‘नर्सले ‘फस्ट एड, योगा, सचेतना कक्षा समेत नर्सले चलाउनुहुन्छ । बिरामी हुँदा पहिलो उपचार हुन्छ । थप उपचार गनर्सपरे नर्सकै सिफारिसमा रेफर गरिन्छ । विद्यालय स्वास्थय र विद्यार्थीको तन्दुरुस्तीमा निकै सहज भएको छ ।’
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७७-०७८ देखि यो कार्यक्रम लागु गरेको हो । प्रदेश सरकारले स्थानीय तहमार्फत रकम पठाउने गर्दछ । विद्यालयले नर्सको हाजिर रेकर्ड हेरेर सिफारिस सहित पालिकामा पठाउने पठाउछ । लुम्बिनी प्रदेश सरकारले को नमुना कार्यक्रमको रुपमा सञ्चालनमा रहेको विद्यालयमा नर्स कार्यक्रमबाट विद्यालयमा अध्ययनरत बालबालिकाको आनिवानीमा समेत परिवर्तन आएको देखिएको छ ।
बिद्यार्थीले विद्यालय छाड्ने दरमा पनि कमी आएको छ । ‘ प्रदेश सरकारले नमुना कार्यक्रमको रुपमा ‘एक विद्यालय एक नर्स ’ कार्यक्रम मार्फत स्टाफ नर्सको व्यवस्था गरेको हो ।प्रदेश सरकारले नमुना कार्यक्रमको रुपमा ‘एक विद्यालय एक नर्स ’ कार्यक्रम मार्फत स्टाफ नर्सको व्यवस्था गरेको छ । विद्यालय उमेरका बालबालिकालाई स्वास्थ्य, सरसफाइमा पहुँच बढाउन कार्यक्रम लागु गरेको हो ।
जसमा बालिकाहरुको व्यक्तिगत स्वास्थ्य परीक्षण, महिनावारी चक्र सुरु हुँदा परामर्शदेखि महिनावारीमा हुने दुःखाइ, आइरन चक्की, जुकाको औषधि खुवाउनेसम्म काम भएको छ । ‘विद्यालय उमेरका बालबालिकालाई शारीरिक र मानसिक स्वास्थ्य सुधार गर्न एक विद्यालय एक नर्स कार्यक्रमले सघाएको छ । स्वास्थ्य, सरसफाइमा पहुँच बढाउन यसले सघाएको छ।’ सामाजिक बिकास मन्त्रालयका सचिव सहसचिव थानेश्वर ज्ञवालीले भने । उनले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अब रोल्पा र बांकेमा थप गर्ने सरकारको तयारी रहेको जनाए । विद्यालय नर्स कार्यक्रमका लागि हाल ४५ लाख लाख बजेट रहेको छ । जसमा संघीय सरकारबाट रकम आउने गर्दछ । अघिल्लो पटक बजेटको रकम प्रदेशमा नपठाउदा कार्यक्रम प्रभावित भएको सहसचिव ज्ञवालीले बताए । विद्यालयका नर्सहरुलाई सुब्बा सरहको तलब र सेवा सुविधा उपलब्ध गराउने गरिएको छ ।
रुपन्देहीको ठूलो र धेरै विद्यार्थी भएको विद्यालय हो शान्ति नमुना मावि मणिग्राम । जहा६ हजार ४ सय बिद्यार्थी रहेका छन् । शान्ति नमुना माविले पनि विद्यालय नर्स कार्यक्रम लागु गरेको छ । विद्यालयमै प्राथमिक उपचार र महिनावारीका बेला अतिरीक्त सेवा पाएपछि बिद्यार्थी प्रत्यक्ष लाभान्वित भएको प्राचार्य कुलप्रसाद लामिछानेको अनुभव छ ।‘ विद्यालयमा नाबालबालिकादेखि किशोर उमेरका विद्यार्थी छन् । कोही बिद्यार्थीको पढ्दापढ्दै टाउको दुख्यो भन्छन् ।
कतिलाई ज्वरो आउछ । नर्स कार्यक्रम नहुदा त्यस्ता विद्यार्थी बोकेर कि त अस्पताल जान्थ्यो कि त घर पठाउथ्यौ । बिद्यालयमै नर्स भएपछि उपचार र परामर्श यहि हुँदा बिद्यार्थी घर जानपरेको छैन । ’ उनले भने । उनले विद्यालयमा नर्स कार्यक्रम धेरै प्रभावकारी भएकाले सबै विद्यालयमा लागू गर्न पनि आग्रह गरे ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका तिलोत्तमा विद्यालयमा नर्सिङ कार्यक्रम कार्यान्वयनमा ल्याउने जिल्लाकै पहिलो स्थानीय तह हो ।
सामुदायिक विद्यालयमा विद्यालय नर्सिङ सेवा कार्यक्रम चलिरहेको छ । सरकारले प्राथमिकतामा राखेको ‘एक विद्यालय एक नर्स कार्यक्रम’ अन्तर्गत संघीय सरकारको बजेटमार्फत तिलोत्तमामा पहिलो चरणमा १२ वटा सामुदायिक विद्यालयमा यो सेवा सुरु भएको हो ।नगर प्रमुख रामकृष्ण खाँणलेले एउटा विद्यालयमा एक जना नर्स खटाउने गरी १२ जना करारमा नर्स नियुक्त गरिएको र अहिले ७ वटामा नर्सिङ सेवा कार्यान्वयनमा ल्याएको बताए ।
उनले भने, ‘बालबालिका स्वस्थ भए नगरको स्वास्थ्य सप्रन्छ । यसैले बालबालिकाको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएर विद्यालयमा नर्स कार्यक्रम लागू गरेका हौं ।’ उनीहरूलाई नियुक्तिपछि नगरले ४ दिन प्रशिक्षण दिएको थियो ।त्यसपछि नर्सहरु विद्यालयमा खटिएका हुन् ।
तलोत्तमाले नर्सिङ कार्यक्रम सञ्चालनका लागि विद्यालयलाई वार्षिक ४७ लाख रुपैयाँ बजेट विनियोजन गर्ने गरेको । यसमध्ये प्रत्येक विद्यालयले ३ लाख ९१ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्ने गरेका छन् । विद्यालयले खरिद गरेको औषधि अपुग भएमा नगरपालिकाले दिने गरेको छ। नर्सिङ अधिकृत लक्ष्मी घिमिरेले सुनाइन् ‘शुरुवातमा १२ बिद्यालयबाट थालेका थियौं । ,अहिले केही नर्सहरु बिदेश गएकोले ७ वटा विद्यालयमा मात्रै छ,उनीहरुलाई सुब्बा सरहको स्केलको सेवा सुविधा छ । ’ उनले सुनाइन् । ’
एक विद्यालय एक नर्स कार्यक्रमअनुसार नर्सले स्थानीय स्वास्थ्य संस्थासँगको समन्वयमा विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण गर्ने, पोषणको अवस्था र मापदण्डअनुसार भए÷नभएको यकिन गर्ने र विद्यार्थीको स्वास्थ्य स्थितिको लेखाजोखा गर्ने काम गर्छन् । घाउ, खटिरा तथा अपर्झट आइपर्ने स्वास्थ्य समस्याको उपचार गर्ने, महिनावारीसँग सम्बन्धित समस्याको समाधानमा किशोरीलाई सहयोग गर्ने, दीर्घरोग लागेका विद्यार्थीको कार्ययोजना बनाई स्वास्थ्य सेवा प्रदान गर्ने गर्छन् । तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले नर्स कार्यक्रमबाट विद्यालयमा अध्ययनरत बालबालिकाको आनिवानीमा समेत परिवर्तन आएको बताइन् । ‘महिनावारीमा विद्यालय गयल हुने छात्राको संख्या पनि घटेको छ।’ उनले भनिन् । विद्यालयमै स्वास्थ्य सेवा पाउँदा बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने उपप्रमुख चौधरीले बताइन् । ‘यो कार्यक्रमले सामुदायिक विद्यालयमा थप आकर्षणसमेत बढाउनेमा विश्वस्त छौं,’ उनले भनिन्, ‘विद्यार्थीलाई स्वास्थ्य समस्या पर्दा विद्यालयमै उपचार सेवा पाइरहेका छन् ।’
रुपन्देही तिलोत्तमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलका अनुसार पहिलो चरणमा शान्ति, जनहित, गौतम बुद्ध, जनता, जनज्योति, शंकरनगर दुर्गादत्त, जनजागृति पशुपति, शिवपुर, जनभावना, बरौलिया र टिकुलीगढ माबिमा नर्सिङ कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।
यी विद्यालयमा २-२ वटा कोठा स्वास्थ्य कक्षका लागि उपलब्ध छन् । उक्त कक्षमा स्वास्थ्य उपचारका लागि आवश्यक सम्पूर्ण सामग्री उपलब्ध गराइएको र सेवा प्रवाह गरिएको पौडेलले बताए । ‘विद्यालयमा नर्स भएका कारण बच्चाहरुको नियमित चेकजांच,महिनाबारी,डेंगु लगायतका अभियान चलाउन सहज भएको छ । बिद्यालयका बिद्यार्र्थी मात्र होइन समूदाय नै लाभान्वित भएका छन् । ’
बजेट अभावले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम संकटमा पर्न थालेको छ । अघिल्लो आर्थिक बर्षमा रकम दिएको संघीय सरकारले चालु आर्थिक बर्षका लागि रकम पठाएको छैन । रकम नहुँदा काममा रहेका र नयाँ नर्सहरुले सेवा दिन पाउनेछैनन ।यो कार्यक्रमले महिनावारीको समयमा छात्रालाई आफ्नो समस्या सुनाउन सहज भएको हुँदा किशोरीको स्वास्थ्यको लागि निकै प्रभावकारी हुनुका साथै विद्यार्थीले बिचमै पढाइ छाड्ने समस्या कम भएको बिद्यालयहरुको तथ्यांक छ ।
देशभरका सातैवटा प्रदेशमा सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गरेर सात प्रदेशमा एक हजार १७ वटा विद्यालयमा नर्स कार्यक्रम लागू गरेको थियो । लुम्बिनी प्रदेशमा ३६ वटा विद्यालयमा नर्स कार्यक्रम लागू भएको छ ।
नर्स कार्यक्रम लागू भएका विद्यालयमा बालबालिकामा बिरामी हुने दर कम हुनुका साथै पोषणको स्तर राम्रो हुनुका साथै मास हिस्टेरियादेखि यौन हिंसा जस्ता समस्या पनि कम देखिएका छन् । स्वास्थ्य मन्त्रालयले ०७४ जेठमा शिक्षा मन्त्रालय, प्याब्सन र एन प्याब्सनलगायत सरोकारवाला निकायसँग समन्वय गरेर कार्यक्रम लागू गरेको थियो ।
एक नर्स एक कार्यक्रम सबै विद्यालयमा आवश्यक छ । तर, सरकारी बजेट अभाव र विद्यालयले चासो नदेखाउदा सबै विद्यालयमा छैन । अभिभावक संघ लुम्बिनीका अध्यक्ष लोकनाथ ज्ञवालीले भने,–‘बालबालिकालाई विद्यालयमा प्राथमिक उपचार गर्ने , स्वास्थ्य र सरसफाइका अत्यावश्यक शिक्षा दिने नर्स कार्यक्रम सबै विद्यालयमा लागू गर्नुपर्छ ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)