बुटवल,असार २१।
बुटवल– ७ , शिवनगरमा रहेको आवर पीसल्याण्ड एकेडेमीले आफ्नो विद्यालयबाट एसईईमा समावेश भएको १४ औं ब्याचले समेत शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएकोमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीहरुलाई बधाई तथा सम्मान गरेको छ ।
विद्यालयले आफ्ना सम्पूर्ण विद्यार्थीहरु लगातार रुपमा उच्चतम ग्रेडका साथ उत्तिर्ण गराई कुनै पनि विद्यार्थीलाई निराश हुने वातावरण नदिएको सुखद अवसरमा आयोजित उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलानन्द पाण्डेको अध्यक्षता, बुटवल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महाशाखाका अधिकृत यादव विष्टको प्रमुख अतिथ्यता र शैक्षिक संयोजक रोमञ्च पुनको सञ्चालनमा सम्पन्न भएको छ ।
प्रमुख अतिथिको मन्तव्य राख्दै अधिकृत विष्टले २०६९ देखिलगातार शतप्रतिशत नतिजा ल्याइरहेको यो विद्यालय अत्यन्त प्रशंसायोग्य भएको र विद्यार्थीहरु आगामी दिनमा सफल हुनका लागि अरुको लहलहैमा नलागि आफूले गर्नुपर्ने काम र कर्तव्यमा अडिक रहनुपर्ने विषयमा जोड दिए ।
२०६९ सालदेखि हालसम्म एसईईमा लगातार शतप्रतिशत एसईई २०७३ मा देशभरमा ३ जना मात्र विद्यार्थीले मात्र जिपिएस् ४ ल्याउने मध्येको एक यस विद्यालयले विद्यालय तहको शिक्षामा आफ्नो छुट्टै पहिचान बनाएको र यहाँ अध्ययन गरी बाहिरिएका विद्यार्थीहरु अनुशासित र लगनशीलताका साथ अगाडि बढ्दै आफुहरुलाई अब्बल सावित विभिन्न पेशा व्यवसाय र आयोगमा नाम निकाल्न सफल भएका छन् ।
साथै थुप्रै विद्यार्थीहरु नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका तथ्यहरु आफूहरुसँग रहेको अध्यक्ष पाण्डेले बताए ।
विद्यालयका प्राचार्य गंगा भण्डारीले आफूहरुले दिएको ज्ञान र संस्कारलाई प्रयोग गर्दै भविष्यमा सफल बन्न सुझाव दिंदै आवश्यकता अनुसारको साथ सहयोगको लागि विद्यालयको ढोका सदैव खुल्ला रहने र थप सम्मान र पुरस्कारको लागि विद्यालयको वार्षिकोत्सवको अवसरमा निमन्त्रमा गरिने बताइन् ।
श्री गणेश टोल विकास संस्थाका अध्यक्ष मीन बहादुर रानाले विद्यालयले शिक्षाको क्षेत्रमा ख्याति प्राप्त गर्दै टोलको गहनाको रुपमा स्थापित भएको बताए ।
अभिभावक खेम थापाले विद्यालयको उपयुक्त वातावरण, शिक्षकहरुको मिहेनतले गर्दा विद्यालयले पृथक परिचय बनाई र योग्य विद्यार्थी उत्पादन गरेको बताए ।
भू.पू. विद्यार्थी युनियन, आवर पीसल्याण्ड एकेडेमीका अध्यक्ष गौरव आचार्यले आफूले यस विद्यालयमा अध्ययन गर्दाका अनुभव, सकारात्मक पक्ष र विद्यार्थीहरु कसरी अगाडि बढ्दा जीवनलाई सार्थक बनाउन सकिन्छ ? भन्ने विषयमा आफ्नो धारणा राखे । कार्यक्रमलाई रोचकता प्रदान गर्न विद्यार्थीहरुद्वारा नृत्य तथा विद्यालयको शैक्षिक प्रगति झल्काउने भिडियो समेत प्रस्तुत गरिएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)