काठमाडौं,असार १६ ।
प्रतिनिधि सभा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमवार बसेको निर्वाचन आयोगको बैठकले रिक्त प्रतिनिधि सभा सदस्य पदमा कात्तिक १७ गते सोमवार उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट निर्वाचित भएका दीपक बोहराको निधन भएपछि सो पद रिक्त छ ।
बोहोराको गएको चैत १९ गते निधन भएको थियो । बोहराको निधनसँगै रिक्त निर्वाचन क्षेत्रमा कात्तिक १७ गते सोमवार निर्वाचन हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पदमा २०८२ कात्तिक १७ गते सोमवारका दिन उपनिर्वाचन गर्नेगरी निर्वाचन गर्ने निर्णय भएको छ ।’
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को उपदफा ६८ बमोजिम रिक्त पदमा निर्वाचन गराइएको हो ।मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ बारे औपचारिक पत्र नआएकोले केही निर्णय नभएको उनले बताए ।उक्त क्षेत्रबाट निर्वाचित स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) कारागार चलान भएपछि सो क्षेत्र खाली छ ।निर्वाचन आयोगले सो क्षेत्रमा पनि उपनिर्वाचन गराउनुपर्ने छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)