बुटवल, असार १५ ।
बुटवल १२ स्थित नयाँगाउँ माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा चार जीपीए ल्याएका विद्यार्थीहरुलाई जनही ५१ हजार रुपैयाँले सम्मान गर्दैै आईतबार नगर परिक्रमा गराएको छ ।
विद्यालयमा अध्ययरनत छात्राहरु सम्झना घिमिरे, समिपा अधिकारी र रविना अधिकारीलाई अविरमाला गर्दै नगर परिक्रमा गराइएको हो ।
विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकहरुले खुशीयाली साट्दै विद्यालय परिसरदेखि नयाँगाउँ, बेल्बास र ढवाहक्षेत्रमा परिक्रमा गराइएको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले बताए ।
बुटवल पश्चिमको विद्यालयले चार जीपिए ल्याएकोमा सबैतिरबाट सकारात्मक प्रतिक्रिया आएको बताउँदै यसमा शिक्षक, विद्यार्थी र अभिभावकहरुको भूमिका महत्वपूर्ण रहेको प्रधानाध्यापक भट्टराईले बताए ।
उनले नयाँगाउँ शिक्षाको हवका रुपमा विकास हुँदै गएको समेत बताए । उनका अनुसार विगत तीन वर्षयता विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले चार जीपीएका साथ एसईई उतीर्ण गरिहरेका छन् ।
सम्मान कार्यक्रममा बिद्यालयका अध्यक्ष पुरुषोत्तम बस्याल,सल्लाकार डिआर घिमिरे लगायतले बोल्दै गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता रहेको बताए ।
विद्यालयले पछिल्लो समय गुणस्तरीय शिक्षा दिन थालेपछि नयाँगाउँ क्षेत्रका अभिभावकहरुले त्यही अध्ययन गराउँन थालेको सहायक प्रधानाध्यापक बिष्णु प्रसाद काफ्लेले बताए ।
कक्षा नर्सरीदेखि १२ सम्म अध्ययन हुने माविमा १५ सय विद्यार्थी अध्ययनरत रहेको शिक्षक रामप्रसाद बन्जाडेले जानकारी दिए ।
यो वर्ष १५८ विद्यार्थीले परीक्षा दिएको विद्यालयका प्रशासन शाखाका प्रकाश भट्टराईले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)