बुटवल,असार १२ ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेटमा छुवाछुत मुक्तदेखि स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये रुरुले जातीय छुवाछुत मुक्त अभियान नयाँ देखिएको छ ।
आगामी बर्ष एउटा वडाबाट मात्रै भएपनि अभियानलाई सार्थक बनाउने गरेर नीति तथा कार्यक्रम र बजेटको व्यावस्था गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
त्यस्तै रुरु क्षेत्र गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्रमुख प्राथमिकता दिएको छ । पालिकाले दुई करोड ६४ लाख ४२ हजार रुपियाँ बिनियोजन गरेको छ । कक्षा ४ देखि नौ सम्मको परीक्षा पालिकास्तरीय गर्ने भएको छ । पालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा कक्षा ४, ५, ६, ७, ८ र नौ को बार्षिक परीक्षा पालिकास्तरीय गर्ने सुनिश्चित गरेको छ । त्यस्तै पालिकाले आगामी बर्षको लागि विभिन्न विद्यालयमा बस संचालन गर्नको लागि पनि बजेट छुट्याएको छ ।
भने पालिकामा सट्टा शिक्षकको व्यवस्थापन गर्ने भएको छ । रुरुक्षेत्रले कार्य सम्पादनमा आधारित प्रधानाध्यापक प्रोत्साहन भत्ताको लागि चार लाख ८० हजार, स्मार्ट शिक्षण विधिको लागि एक लाख बजेट व्यवस्थापन गरेको छ । त्यसैगरी पालिकामा निःशुल्क लोकसेवा÷शिक्षकसेवाका तयारी कक्षा संचालन, रुरु संस्कृत तथा साधारण माविलाई आवासीय विद्यालयको रुपमा विकास गरिने लगायतका कार्यक्रमलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि योगदानमा आधारित करार कर्मचारीहरुलाई आवद्धता गराउने योजना सहित बजेट व्यवस्थापन गरेको छ । त्यसैगरी महिला स्वास्थ्य स्वयम् सेविकालाई नागरिक लगानी कोषसँग आवद्ध गरी मासिक एक हजारको व्यवस्था गरेको छ । वडा पहुँच मार्गको लागि ११ करोड, एक घर एक धारा पुरा गर्न दुई करोड २० लाख बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष ज्ञवालीले बताउनुभयो । पालिकाले पशु र कृषि क्षेत्रको विकासका लागि रुरु कृषि परियोजना संचालनलाई निरन्तरता दिने भएको छ ।
विपन्न नागरिकको लागि निःशुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य परीक्षण, गर्भवतीको लागि निःशुल्क एम्बुलेन्स सेवा लगायत स्वास्थ्य क्षेत्रका विभिन्न कार्यक्रम संचालनको लागि एक करोड १३ लाख ८६ हजार रकम बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्षमण पाण्डेले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड लगायतका खेलकुद कार्यक्रमको लागि चार लाख, न्यूनतम २० युनिटसम्मको विद्युत गाउँपालिकाबाट भुक्तानी गर्न १३ लाख, महिला, आदिवासी, जनजाति, एकल नागरिक लगायतका लक्षित समुहका कार्यक्रम संचालन गर्नको लागि २१ लाख ४० हजार, ज्येष्ठ नागरिकलाई देशका विभिन्न स्थानमा भ्रमण लैजानका लागि पाँच लाख, कृषक सम्मान, निःशुल्क कृत्रिम गर्भाधान, उत्पादनमा आधारित अनुदान लगायतका कृषि र पशुसम्बन्धि कार्यक्रम संचालनको एक करोड २२ लाख रुपियाँ बिनियोजन भएको प्रशासकीय अधिकृत पाण्डेले बताउनुभयो ।
रुरु क्षेत्र गाउँपालिकाल ५५ करोड ६६ लाख १९ हजार रुपियाँको अनुमानित बजेट निर्माण गरेको छ । जसमा चालु खर्च ३६ करोड ९५ लाख ६९ हजार रुपियाँ र पूँजीगत खर्च १८ करोड ७९ लाख ५० हजार रुपियाँ रहको छ ।
कृषि तथा पशुपालन, खानेपानी तथा सरसफाई, गुणस्तरीय र सर्भसुलभ स्वास्थ्य सेवा¸शिक्षामा सबै बालबालिकाको पहुँच पुराएर गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने, गाउँपालिकाका सडकहरुलाई स्तरोन्नती गर्ने र क्रमागत रुपमा संचालनमा रहेका आयोजनाहरुको निर्माणलाई प्राथमिकता दिएर बजेट निर्माण गरिएको गाउँपालिकाको उपाध्यक्ष मीनादेवि गौतमले जानकारी दिनुभयो ।
यी हुन् प्राथमिकता :
-स्वास्थ्य क्षेत्रका विविध कार्यक्रमका लागि रु. १ करोड १३ लाख ८६ हजार विनियोजन गरिएको छ।
-विपन्न नागरिकहरूको निःशुल्क उपचारका लागि आवश्यक रकम विनियोजन।
-गाउँपालिकाभित्र रहेका स्वास्थ्य चौकीहरूको व्यवस्थापनका लागि आवश्यक बजेट।
-औषधि निःशुल्क वितरण र दीर्घरोगीको उपचार व्यवस्थापनमा रकम छुट्याइएको।
-जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको घरमै स्वास्थ्य परीक्षणका लागि बजेट।
-गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण र संस्थागत प्रसूति प्रवर्द्धनमा निःशुल्क एम्बुलेन्स सेवा समावेश।
-सुरक्षित प्रसूति सेवा कार्यमा संलग्न स्वास्थ्यकर्मीलाई प्रोत्साहनका लागि रकम।
-जटिल रोगबाट पीडित विपन्न नागरिकलाई एम्बुलेन्स सेवा र उपचार सहयोगका लागि व्यवस्था।
-किशोरावस्थाका विद्यार्थीलाई मानसिक, सामाजिक र शारीरिक रूपान्तरणबारे सचेत बनाउन “साथी शिक्षा कार्यक्रम” सञ्चालन।
-महिला स्वास्थ्य स्वयंसेविकाका लागि पेन्सन योजनामा वार्षिक रु. ९ लाख २४ हजार विनियोजन।
-महिला स्वास्थ्य स्वयंसेविकाका लागि सञ्चार र यातायात सुविधा अन्तर्गत रु. ४ लाख ६२ हजार।
-घरघरमै स्वास्थ्य सेवा कार्यक्रम सञ्चालनका लागि रु. ७ लाख विनियोजन।
-स्त्रीरोग र अन्य विशेषज्ञ सेवा शिविर सञ्चालनका लागि रु. ७ लाख बजेट।
-मिर्गौला प्रत्यारोपण, डायालाइसिस, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई वार्षिक रु. ५ हजार औषधि सहयोग।
-स्वास्थ्य संस्थाको न्यूनतम मापदण्ड पूरा गरी व्यवस्थित सेवा प्रवाहका लागि रकम।
-सुत्केरी पोषण प्याकेज, क्याल्सियम, सरसफाइ, ल्याब, गाउँघर क्लिनिक,रुरु प्राथमिक स्वास्थ्य केन्द्र पोष्टमार्टम सेवाका लागि बजेट।
-आयुर्वेद स्वास्थ्य प्रवर्द्धन, औषधि उत्पादन, योग प्रशिक्षण, सुवर्णप्राशन कार्यक्रम सञ्चालन।
-एचआईभी संक्रमितलाई औषधि, परामर्श, उपचार सेवाका लागि बजेट।
-वडानं. १ को रिडी बजारमा आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक बजेट।
-निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया कार्यक्रम सञ्चालन।
-निःशुल्क रक्त उपलब्धता, विद्यालय स्वास्थ्य शिक्षा तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक बजेटको व्यवस्था।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)