बुटवल,जेठ २१ ।
रुपन्देहीका विभिन्न स्थानीय तहले आफ्नो पालिकामा पर्ने नदीहरूमा लगाएका ठेक्कामा ठेकेदारले मापदण्डविपरीत जथाभावी उत्खनन र ढुंगागिटी चोरी गरेको भन्दै समाजवादी मोर्चा रुपन्देहीले तत्काल अनियमितता रोक्न माग गरेको छ ।
मोर्चामा आवद्ध नेकपा माओवादी केन्द्रका संयोजक निर्मल जिसी, नेकपा एकीकृत समाजवादीका अध्यक्ष हिराध्वज शाह र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं मोर्चाका जिल्ला संयोजक शरद वलीले मंगलबार विज्ञप्ति जारी गर्दै जथाभावी उत्खनन र चोरी निकासीप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
जथाभावी दोहन र चोरी निकासीमा सम्बन्धित निकायको मिलेमतो र सेटिङ रहेको मोर्चाको आरोप छ ।
केही दिन यता बुटवल, सैनामैना, देवदह, सिवारी सुद्धोधन, तिलोतमा, मायादेवी, गैडहवा, रोहिणी, कञ्चन लगायतका स्थानीय पालिकाहरुले तिनाउ, दानव, चरंगे खोला, कर्साघाट, कञ्चन खोला, रोहिणी खोला, घोडाखोला,सुक्रौलीघाट लगायतका अधिकांश खोलाहरूमा अनियन्त्रित रूपमा मापदण्ड विपरीत अवैधरूपमा दोहन गरी नदीजन्य पदार्थ ढुंगागिटी, बालुवा दोहन तथा चोरी निकासी भइरहेको र केही क्रसर उद्योगमा अवैध ओसारपसार र मापदण्ड विपरीत घाटगद्दी गरेको कार्यप्रति समाजवादी मोर्चा नेपाल रुपन्देहीको गम्भीर ध्यानाकण भएको जनाएको छ ।
सबैको मिलेमतो र सेटिङमा मापदण्ड विपरीत राष्ट्रिय गौरवका योजनाको नाममा या अन्य नाममा जाँचभन्दा बढी खन्ने, खाल्डो पार्ने र घाटगद्दी नगरी सोझै केही क्रसर उद्योगमा ओसारपसार गर्ने, नियम विपरीत घाटगद्दी गर्ने, चोरी गर्ने र अबैध निकासी गर्ने जस्ता कार्य तत्काल बन्द गराउन मोर्चाले माग गरेको छ ।
नियमित अनुगमन नियन्त्रण, निगरानी नियमन गर्न र अबैध ओसारपसारमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउन समेत मोर्चाले माग गरेको छ ।
प्राकृतिक स्रोत र साधनको दोहनमा मापदण्ड विपरीत प्रयोग गरिएका साधनहरु खोलाबाट तत्काल हटाउन अनुरोध गर्दै मोर्चाको अनुरोधलाई बेवास्ता गरिएमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने विज्ञप्तिमार्फत चेतावनी दिइएको छ ।
खोला उत्खनन्को ठेक्का पाएका ठेकेदारले पालिकाले तोकेको स्थानमा घाटगद्दी गर्नुपर्ने ढुंगागिटी सिधै क्रेसर उद्योगमा लैजाने गरेको पाइएपछि तिलोत्तमा–६ गोरकट्टास्थित कश्यप नमुना रोडा उद्योगलाई सोमबार प्रशासनले कारबाही गरेको छ ।
सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा उत्खननबाट ल्याइएको ताजा ढुंगागिटी ठूलो परिमाणमा भेटिएपछि अर्को निर्णय नहुँदासम्मका लागि विक्रि वितरण गर्न नपाउने गरी कारबाही गरिएको हो ।
बा०३००१ ख ०७२५ नम्बरको टिपरले घाटगद्दीमा लैजानुपर्ने नदीजन्य पदार्थ सिधै कश्यप नमुना रोडा उद्योगमा पुर्याएको प्रमाण सहितको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो । उक्त नम्बर प्लेटको टिप्पर पालिकाले तोकेको घाटगद्दीमा ढुवानी गर्न अनुमति पाएको टिपर हो ।
उक्त ठाउँको उत्खनन्को ठेक्का व्यवसायी सुमन बस्यालले पाएका छन् । गत वर्ष पनि उनैले ठेक्का पाएका थिए ।
समाचार प्रकाशित भएपछि गोरकट्टामा भइरहेको उत्खनन् बन्द गराइएको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
सोमबार अनुगमन गर्दा कश्यप रोडा उद्योगमा अवैध ढंगले ताजा ढुंगागिटी ठूलो परिमाणमा आएको देखिएकाले बिक्री वितरण बन्द गराइएको र थप प्राविधिक अनुसन्धान गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरले बताए ।
धेरै ठाउँमा ठेक्का लागेकाले सबै ठाउँमा अनुगमन गर्न कठीन भएको घिमिरेले बताए ।जिल्ला समन्वय समिति प्रमुख उमाकान्त चापागाईंले बुटवलको मगरघाट माथिको स्थानमा मापदण्ड विपरीत गहिरो गरी खनिएको पाइएको र यसले बस्ती नै जोखिममा पर्ने देखिएको बताए ।
आफूले कात्तिक–मंसिरदेखि नै खोलाको ठेक्का लगाउने प्रक्रिया अघि बढाउन पालिकाहरूलाई आग्रह गरे पनि बेवास्ता गरेर सबै पालिकाले एकैचोटी जेठमा ठेक्का लगाउँदा प्रभावकारी अनुगमन हुन नसकेको चापगाईंले बताए । यसअघि अनुगमन हुँदा तिलोत्तमामा २ वटा, सैनामैनामा ६ वटा गाडी नियन्त्रणमा लिई कारबाही गरिएको समन्वय समिति प्रमुख चापागाईंले बताए ।
मापदण्ड विपरीत हुने उत्खनन् र चोरीको सूचना सरोकारवाला निकायलाई दिएर अवैध कार्य रोक्न स्थानीयको सहयोग हुनुपर्ने चापागाईंले अनुरोध गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)