Logo मंगलवार, श्रावण १२ गते २०८३
images

बुटवल औद्योगिक क्षेत्रका ६० उद्योग : बिजुली कटौती र जग्गा अभावले हैरानी खेप्दै !

बुटवल औद्योगिक क्षेत्रका ६० उद्योग : बिजुली कटौती र जग्गा अभावले हैरानी खेप्दै !

  • 180
    SHARES

  • बुटवल औद्योगिक क्षेत्रका ६० उद्योग : बिजुली कटौती र जग्गा अभावले हैरानी खेप्दै !

    बुटवल,जेठ १९ ।

    रुपन्देहीकाे बुटवलमा रहेकाे बुटवल औद्योगिक क्षेत्रका ६० उद्योग धरासायी हुने चिन्तामा पुगेका छन् । अहिले भैरहेकाे अघाेषित बिजुली कटौती र औद्योगिक चलाउन चाहिने जग्गा अभावले हैरानी खेप्न बाध्य भएकाे बताउँछन् ।

    बुटवल औद्योगिक क्षेत्रमा रहेको मेटल कास्ट उद्योगलाई अहिले त्यहाँको जग्गा साँघुरो भएको छ । २०५२ सालमा उद्योग स्थापना हुँदा प्रयाप्त रहेको उक्त जग्गा उद्योगको क्षमता विकास हुँदै गएपछि अहिले साँघुरो भएको हो । उद्योगका सञ्चालक निश्चल शर्माले भन्नुभयो–‘यहाँको जग्गा साँघुरो भयो, मोतिपुर औद्योगिक क्षेत्र कहिले बन्छ, त्यसको प्रतिक्षामा छौं ।’

    यो उद्योगमा ठूला परियोजनाका लागि फलामका सामान उत्पादन तथा मर्मत सम्भारको काम हुन्छ । जग्गा साँघुरो हुँदा काम गर्न कठिनाई भएको उहाँले बताउनु भयो । मेटल कास्ट उद्योगलाई मात्रै होईन, २०६६ सालमा स्थापना भएको युनाईटेड प्लाष्टिक उद्योगलाई पनि जग्गा साँघुरो भएको छ । तर उद्योगमा ठूला ठूला मेसिन तथा उपकरणहरु हुने भएकाले अन्यत्र ठाउँ पाएपनि उद्योग स्थानान्त्रण गर्न सजिलो छैन ।

    उद्योगका प्रवन्ध निर्देशक तुलसीबहादुर गुरुङले अन्यत्र ठाउँ पाईहालियो भने पनि सार्ने स्थिती नभएको बताउनु हुन्छ । त्यसो त खासै समस्या नभएका उद्योग पनि छन् । २०४० सालमा स्थापना भएको लिटमस इण्डष्ट्रिज लिमिटेड स्मुथली सञ्चालन भएको उद्योग हो । विजुलीका तारहरु उत्पादन गर्ने यो उद्योगको ८० प्रतिशत सामान नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सिनियर म्यानेजर भूवन गिरी बताउनु हुन्छ ।

    बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको टोलीसंग साे क्षेत्रका उद्योगीहरुले उद्योगको क्षमता अनुसार ठाउँ साघुरो भएको बताए ।

    त्यसबाहेक बुटवल औद्योगिक क्षेत्रमा भाडा विवाद कायमै रहेको र विद्युतमा समेत समस्या रहेको बताएका हुन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७५ सालदेखि लागुहुनेगरी २०७८ सालमा जग्गाको भाडा ७ सय प्रतिशतसम्म बृद्धि गरेको थियो । यो विवाद अझै सुल्झिएको छैन । त्यस्तै बुटवल औद्योगिक क्षेत्रमा डेडिकेटेड फिडर छ । तर, विद्युत जाने आउने समस्या रोकिएको छैन ।

    बुटवल औद्योगिक क्षेत्रमा ६० उद्योग छन् । त्यसमध्ये अधिकांश उद्योग प्लाष्टिक र फेव्रिकेशनका छन् । यो प्रकृतिका उद्योगका लागि २४ सै घण्टा विद्युतको आवश्यकता पर्छ । औद्योगिक क्षेत्र उद्योग संघका वरिष्ठ उपाध्यक्ष प्रज्वल थान्जुका अनुसार केही मिनेट मात्रै विद्युत अवरुद्ध हुँदा उद्योगले धेरै नोक्सान व्यहोर्नुपर्छ ।
    त्यसबाहेक औद्योगिक क्षेत्र र बाहिरका उद्योगका अरु समस्या भने समान प्रकृतिका छन् ।

    सिथिल अर्थतन्त्र, जनशक्तिको अभाव, सरकारको औद्योगिक नीति सबै उद्योगका समान समस्या हुन् । औद्योगिक क्षेत्र उद्योग संघका महासचिव कमल ज्ञवालीले कच्चा पदार्थमा भन्सार शुल्क लाग्ने र तयारी बस्तुमा छुट दिनेसम्मका नीतिले नेपाली उद्योगीलाई समस्या गराएको बताउनु हुन्छ । उहाँका अनुसार यावत कारणले फूल फेजमा उद्योग सञ्चालन गर्न सकिएको छैन ।

    मुलुकको शिथिल अर्थतन्त्रका कारण यस क्षेत्रका उद्योगहरु पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । रुपन्देहीमा थुप्रै औषधी उद्योग छन् । औषधि उद्योगहरुमा पनि सरकारको विमा पोलिसी, क्यास फ्लोको अभाव, दक्ष जनशक्ति तथा सानो बजार ठूलो लगानी लगायतका समस्या रहेको ती उद्योगीहरु बताउँछन् । आयुर्वेदिक र एलोपेथिक औषधी उत्पादन गरिरहेको ग्रेस फर्मासिउटिकल प्रा.लि.मा पनि संघको टोलीले स्थलगत अवलोकन गरेको थियो ।
    कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दी लगायतका कारणले उद्योगहरु पूर्ववत सञ्चालनमा आउन नसकेको पञ्चकन्या ग्रुपका महानिर्देशक देवेन्द्र साहु बताउनु हुन्छ । रुपन्देहीको कोटिहवामा ३ वटा स्टिल र ३ वटा प्लाष्टिक उद्योग सञ्चालन गरेको पञ्चकन्या ग्रुपले पूर्ण क्षमताको २० प्रतिशत मात्रै सञ्चालनमा रहेको उहाँले बताउनु भयो । यो उद्योगमा अहिले पनि ६ सय बढी कामदार कर्मचारी कार्यरत छन् ।
    ‘पूर्ण क्षमतामा सञ्चालन नभएपछि हामीले तिर्दै आएको भन्सार शुल्क पनि कम भएको छ, राजश्व पनि कम भएको छ ।’ उहाँले भन्नुभयो–‘भन्सार किन कम भयो भनेर भन्सार पनि आउँदैन, राजश्व किन कम भयो भनेर कर कार्यालय पनि आउँदैन, पहिले बैंक आउनु पर्दैनथ्यो, अहिले बैंक आउँछ ।’butwal_industrial_area.jpg

    उहाँले राज्य भूमिका विहिन भएको बताउनु भयो । ‘छोरा लड्यो भने उठाउने दायित्व बाबुको हो, घाउ चोटपटक लागेको भए औषधोपचार गर्ने, तयार बनाउने दायित्व बाबुको हो ।’ उहाँले भन्नुभयो–‘तर, यहाँ बाबुको भूमिकामा राज्य छैन ।’ उहाँले विद्युत निरन्तर भएको भए आईरन (फलाम वेष्टेज नहुने बताउँदै विद्युत ट्रिपिङले धेरै आईरन वेष्टेज भईरहेको पनि बताउनु भयो ।

    उद्योगहरुको स्थलगत अवलोकनबाट प्राप्त भएका समस्याहरु तथा सुझाव सल्लाहहरुलाई संघमा छलफल गरी स्थानीय स्तरमा हुन सक्ने संघले पहल गर्ने र माथिल्लो निकायमा भन्नुपर्ने कुरालाई नेपाल उद्योग वाणिज्य महासंघ मार्फत समाधानका लागि पहल र पैरवी गरिने अवलोकन टोली संयोजक तथा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका उद्योग उपाध्यक्ष सुरज भट्टराईले बताउनु भयो । 

    बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगीहरुका समस्या पहिचान गर्न स्थलगत अवलोकन गरिएको र प्राप्त सुझाव सल्लाहका आधारमा समस्या समाधानका लागि संघले रणनीति तय गर्ने बताउनु भयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    कपिल ज्ञवाली

    डेढ दशकदेखि बुटवलमा रहेर पत्रकारितामा सक्रिय ज्ञवाली नागरिक अनलाइन डटकमका संस्थापक र चिफ एडिटर हुन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology