बुटवल,माघ १४ ।
अर्थमन्त्री तथा सत्तारुढ नेकपाका महासचिब विष्णुप्रसाद पौडेल आज दिनभर रुपन्देहीमा ब्यस्त भए । उनले आज जिल्लाका ३ वटा पूल उद्घाटन समेत गरे ।
निर्माण सकिएर संचालनमा आइसकेका ३ वटा माेटरेवल (पक्की पुल)उद्घाटन गरेका हुन् ।बिभिन्न कार्यक्रममा सम्बाेधन गर्दै उनले विकासका दृष्टिले रुपन्देहीका कुनै क्षेत्रलाई पछाडि पर्न नदिइने दाबी गरे ।
बुटवल १४ नयाँगाउँमा निर्माण भएको दानब नदी पुल, बुटवल११ को मगरघाट पुल र देवीनगर-बुद्धनगर जाेड्ने पुलको उद्घाटन गरेका हुन् ।उनले विकास निर्माणलाई एक साथ अघि बढाउने बताए । उनले भने, ‘विकासका हिसाबले यो ठाउँलाई पछि पर्न दिदैनौं ।’
अर्थमन्त्री पौडेलले अबका समयमा सरकारका कामसँगै विकास निर्माणलाई पनि प्रभावकारी ढङ्गले अघि बढाउने जनाउँदै यसमा साथ दिन सबैलाई आग्रह गरे । यस क्षेत्रका विकासका मुद्दालाई ओझेलमा पर्न नदिन स्थानीयवासीको पनि उत्तिकै भूमिका हुने छ भन्दै अर्थमन्त्री पौडेलले समयसमयमा खबरदारी गर्न आवश्यक रहेको बताए ।
‘यस ठाउँलाई पूर्वाधार विकासका हिसाबले पछाडि पर्न दिइने छैन’, अर्थमन्त्री पौडेलले भने, यहीस्थलमा लुम्बिनी बौद्ध विश्वविद्यालयको आगिङ्क क्याम्पस निर्माणको प्रक्रियासमेत शुरु गरिएको छ । यो योजना सम्पन्न हुँदा यो ठाउँको मुहार बदलिने छ ।’
विसं २०७६ भदौ ३० गते निर्माण सम्पन्न भएको दानव नदी पुलको लम्बाइ ९८ दशमलव २५ मिटर र चौडाइ ७ दशमलब २ मिटर रहेको छ । पुलको लागत रु ६ करोड २३ लाख रहेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले जानकारी दिए ।
यसअघि अर्थमन्त्री पौडेलले आजै बिहान योगीकुटी र शिवनगर जोड्ने मगरघाटको पुल उद्घाटन गरेका थिए । सो पुल २०७३ सालमा सम्झौता भएर २०७६ माघमा सम्पन्न भएको हो । १८० मिटर लम्बाइ ११ मिटरकै चौडाइको यो पुलको लागत २१ करोड ४९ लाख रहेको डिभिजन सडक कार्यालयले जानकारी दिएको छ ।
यता देबीनगर-बुद्धनगर जाेड्ने पुल विसं २०७२ असार ३० गते निर्माण शुरु भई २०७६ माघ ५ गते सम्पन्न भएको थियाे । पुलको लम्बाइ ११० मिटर र ११ मिटर चौडाइ रहेको छ । पुलको लागत रु १० करोड ४५ लाख रहेको डिभिजन सडक कार्यालयले जनाएको छ । पुल नहुँदा बुटवलको तिनाउ नदी पारिका बस्तीलाई समस्या थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)