बुटवल,बैसाख २३ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका(देउखुरी)मा छलफल भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र सिकाइको आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।‘प्रदेश स्थापना भएको आठ वर्षको अवधिमा संघीयतालाई बलियो बनाउने गरी प्रदेश तहबाट उल्लेखनीय कार्यहरू भएका छन् । मुख्यमन्त्री आचार्यका अनुसार प्रदेश तहबीच कानुन निर्माणदेखि असल अभ्यासहरूको आदानप्रदानलाई सिकाइको माध्यमका रूपमा लिन सकिनेछ ।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन तथा आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेका सफलताहरू कोशी प्रदेशका लागि सिकाइ हुने उल्लेख गर्नुभयो ।कोशी प्रदेशकी उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने यस्ता सिकाइ आदानप्रदानले भावनात्मक रूपमा पनि प्रदेशहरूलाई नजिक ल्याउने भएकाले यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
छलफलमा नेपाली कांग्रेसकी सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रकी सचेतक गीता तिम्सिना, नेकपा एसका सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायतको सहभागिता थियो । लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्यसँगै प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरीलगायत सहभागी हुनुहुन्थ्यो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)