तिलोत्तमा,बैसाख २ ।
आजदेखि यही ७ वैशखसम्म देशभरका पालिकाहरुमा जस्तै तिलोत्तमा नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि व्यक्तिगत घटना दर्ता सप्ताह शुरु गरिएको छ। रुपन्देहीको बिचौबीच भागमा रहेको तिलोत्तमा नगरपालिकामा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निर्देशन तथा कार्यक्रम अनुसार पंजीकरण उपशाखाको आयोजनामा आजदेखि यही ७ वैशाखसम्म नगरपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह शुरु भएको हो।
नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले तिलोत्तमाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता समयमै गरि जरिवाना बाट बच्न सबै नगरबासीहरुमा अनुरोध समेत गर्नुभएको छ। उहाँले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण नगरबासीलाई अनुरोध गर्दै जिबनमा घटना दर्ताले ठुलो अर्थ राख्ने र नीति निर्माण तथा बिकास र समृद्धिको लागि समेत यस्ता तथ्यांक काम लाग्ने कुरा ब्यक्त गर्नुभएको छ।
हेर्दा सामान्य लागे पनि सामान्य बुझे पनि व्यक्तिगत घटना दर्ताले जिबनमा ठुलो अर्थ राख्ने उहाँले बताउनुभयो। समयमै घटना दर्ता नगर्दा पछि हुने झन्झटले अफ्ठ्यारा हरु आइलाग्ने हुँदा घटना घटेको ३५ दिन भित्रै वडा कार्यालयमा गएर घटना दर्ता गर्न नगरप्रमुख खाणले सुझाव दिनुभयो।
सो अवसरमा बोल्दै घटना दर्ता अहिले अनलाइन प्रक्रियाबाट पनि घरबाटै टोकन बनाउन सकिने भएकाले कुनै पनि घटना दर्ता गर्न नहिच्किचाई कालान्तरमा आउने कठिनाइ निर्मुल पार्न समयमै घटना दर्ता गर्नुपर्ने पंजीकरण शाखाका युवराज तिवारीले बताए।नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन समेत अनुरोध गरेको छ। हालसम्मकै उच्च बसाई सरि आउने दरमा निकै नै वृद्धि रहेको तथा जनसंख्याको दर समेत बढिरहेको तिलोत्तमा नगरपालिकामा १७ वटा वडा रहेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)