बुटवल,चैत्र २७ ।
होटल पौवाले देशभरका शाखाहरुमा ‘स्वाद उत्सव’ कार्यक्रम सुरु गरेको छ । स्थापनाको नवौं वार्षिकोत्सवको अवसरमा स्वाद उत्सव कार्यक्रम सुरु तथा कर्मचारी सम्मान कार्यक्रम गरिेएको हो ।
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ नेपालका लागि नेपाली हस्पिटालिटीसहितको सेवा दिने गरी स्थापना भएको पौवाले हालसम्म १७ वटा शाखा सञ्चालनमा ल्याइसकेको छ ।
बुटवलको योगिकुटी शाखामा अध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष रामप्रसाद आचार्यले यो कार्यक्रमको शुभारम्भ गरेका थिए । नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने स्वाद उत्सव चैत २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । उत्सव चैत २५ गते सोमबार सुरु भएको हो ।
होटल पौवाका अनुसार उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखेको छ । स्वाद उत्सवको उद्देश्य पौवाका सेफहरूबीच नै स्वस्थ प्रतिष्पर्धा गराई बढीभन्दा बढी गुणस्तरीय खाना तयार पार्नु पनि रहेको उनले बताए ।
‘स्वाद उत्सवमा पाहुनाहरूले दिनुहुने प्रतिक्रियाले सेफहरूको अनुभवमा निखारता आई क्षमता अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास पौवाले लिएको छ, ‘उनले भने । यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत गर्नु रहेको उनले बताए ।
उत्कृष्ट कार्यसम्पादन गर्ने १७ वटा शाखामध्ये सर्वोत्कृष्ट शाखाका रुपमा भरतपुर शाखाका किचन विभागबाट चिरन्जिवी भट्टराई, उत्कृष्ट पोखरा शाखाका प्रबन्धक केशव भण्डारी, भैरहवा संजालका सेफ दिपक भण्डारी, लेखा विभागका भैरहवा संजालका लेखापाल अशोक यादव, सर्भिस विभागका सालझण्डीबाट विशाल सिंह ठकुरी, हाउस किपिङ र प्रडक्ट विभाग काठमाडौंका हरि न्यौपाने, फ्रन्ट अफिस भालुवाङ शाखाका इन्दिरा चौधरी, सुरक्षा विभाग बुटवलका प्रेम घिमिरेलाई सोमबार नगदसहित सम्मान गरिएको सञ्चालक तथा ब्राण्ड मेनेजर विष्णु भण्डारीले बताए ।
पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेले उत्सवमा भाग लिनका लागि सबै शाखाबाट २ लाख स्थानीय तथा बाह्य पाउनाहरूलाई प्रत्यक्ष भेट गरी निमन्त्रणापत्र दिइएको बताए । ती सबै अतिथि पाहुनाहरूलाई पौवामा आएर खानाको निःशुल्क स्वाद लिन पाउने गरी व्यवस्था मिलाइएको उनले बताए । पाहुनाहरूले दिएको विश्वास र समर्थनकै कारण पौवा ‘मिसन १००’ को लक्ष्य पछ्याउँदै देशभर विस्तारित भइरहेको छ,’उनले भने । नेपालका विभिन्न चाडपर्वलाई पौवाले विशेष रुपमा बनाउँदै आएको उनले बताए ।
९ वर्षअघि विश्व गौतमबुद्धको जन्मस्थल लुम्बिनी प्रदेशबाट यात्रा सुरु होटल पौवाको १७ वटा शाखा पुगेका छन् । जहाँ ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । बाँकेको नेपालगंजमा पाँचतारे होटल ‘पौवा वेस्ट्रन’ को पहिलो चरणको काम सम्पन्न भएको छ भने मुख्य अतिथि आवास भवन निर्माण भइरहेको छ । अत्याधुनिक सभा हल तथा नेपाली रेष्टुरेण्ट सुरु भइसकेको छ । नेपालगंजको होटलमा नेपाली हस्पिटालिटीभित्र अन्तर्राष्ट्रिय सुविधा रहनेछ ।
होटल पौवाको नेपालगंजमा सञ्चालन शाखामा फरकफरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूलो सभा हलसहित १४ वटा मिटिङ हल र ७ वटा स्वीट रुमसहित ९६ वटा डिलक्स रुम उपलब्ध हुनेछन् । नेपालगंजमा पहिलो होटलका रुपमा ९ तलासहितको एउटै छानामुनी क्यासिनो, स्पा, स्विमिङ, जिम सुविधा रहने छन् ।
स्थापनाको ९ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ । त्यस्तै छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदूरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।
लुम्बिनी प्रदेशमा रुपन्देहीको भैरहवाको र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही, कपिलवस्तुको गोरुसिंगेमा पौवाले समान र नेपालीपनसहितको सेवा दिइरहेको जनाएको छ । त्यसै गरी पाल्पाको तानसेन र गुल्मीको रेसुंगामा पनि अन्तर्राष्ट्रियस्तरको रिसोर्टसहित होटल सञ्चालनमा छ । त्यसै गरी सिन्धुलीको मुलकोट र खोटाङको हलेसीमा पनि पौवाको सेवा संञलन भइसकेको सञ्चालक विष्णु ज्ञवालीले बताए ।
कोशी प्रदेशमा होटल सञ्चालनको अध्ययन गरिरहेका तथा मधेश प्रदेशको जनकपुरमा सम्भाव्यतासहित होटल सञ्चालनको प्रारम्भिक तयारी गरिएको छ । त्यस्तै गण्डकी प्रदेशमा पनि थप होटल सञ्चालनको अध्ययन थालिएको छ । सिन्धुली सदरमुकाममा नयाँ शाखा स्थापना हुन गइरहेको छ । अबको केही समयभित्रै पाल्पाको झिगामारामा पौवा बनवास रिसोर्ट समेत स्थापना हुन लागेको जनाइएको छ ।
‘देशलाई चिनाउने क्षेत्र पर्यटन क्षेत्र नै हो । हाम्रो डाँडापाखालाई सदुपयोग गर्ने हो भने रोजगारीको लागि विदेश पलायनलाई समेत कम गर्न सकिन्छ । पौवाको प्रमुख लक्ष्य देशभित्रै रोजगारी सिर्जना गर्ने हो । पौवाले स्थानीय उत्पादनको समेत खपत गर्दै आएको छ जसले पौवा पुगेको स्थानमा आम्दानीको स्रोत समेत विस्तार भएको छ ।’
पौवाका परिकल्पनाकार उपाध्यक्ष धु्रव न्यौपानेले भने । उनका अनुसार सामूहिक लगानीमा नेपालमा केही गर्न सकिन्छ भन्ने उदाहरण पौवाले दिएकाले अब नयाँ क्षेत्रमा लगानीको अवसर खुला गरेको छ । ‘हामीले यसलाई लगानी सम्मेलन नै भनेका छौं, पहाडी क्षेत्रमा बाँझो रहेका जग्गालाई व्यवस्थापन गर्ने नीतिअनुरुप हामीले यो अभियान थालेका छौं, पहिलो चरणमा पाल्पाको झिंगामारामा ठूलो क्षेत्रमा यसको सुरुवात गरेका छौं, यहाँ लगानीकर्तालाई आव्हान गरेका छौं’उनले भने ।
सोमबार बसेको व्यवस्थापनको बैठकले पनि यसलाई अगाडि बढाउने निर्णय गरेको ब्राण्ड मेनेजर विष्णु भण्डारीले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)