बुटवल,चैत्र २५ ।
कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतको आदेशप्रति संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
उच्च अदालतको आदेशपछि काठमाडौँबाट पक्राउ गरिएका लामिछानेलाई आज जिल्ला अदालतमा उपस्थित गराएर पुर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको थियो । सबै आवश्यक प्रक्रिया पश्चात् कारागारको थुनुवा कक्षतर्फ लैजाँदै गर्दा अदालतको आदेश प्रति के छ प्रतिक्रिया भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने, ‘केही छैन, केही छैन ,अदालतप्रति सम्मान छ ।’
सोमबार कारागार चलान हुँदै गर्दा उनले सो प्रतिक्रिया दिएका हुन् ।
लामिछानेलाई कारागार प्रशासनले ४ नम्बर ब्लक राखेको छ । भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अन्य कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । उक्त कारागारमा यसअघि सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।
लामिछाने शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि पक्राउ परेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)