बुटवल,चैत्र १४ ।
बुटवल श्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता –२०८१ को तयारी तीब्र पारिएको छ । विहीबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १६ गते शनिबार हुने ११ औँ संस्करणको उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराइएको हो।
प्रतियोगितामा लुम्बिनी, गण्डकी, सुदुरपश्च्मि, कर्णाली र मधेश गरी पाँच प्रदेशबाट गरि १५० भन्दा धेरै खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् ।
नवेदित खेलाडीको उत्पादनसंगै मोफसलमा शारीरिक सुगठन खेल र खेलाडीको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान गर्ने उद्देश्यले निरन्तर यस क्षेत्रमा कार्यक्रम गरि रहेको लुम्बिनी प्रदेश शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितुप्रसाद श्रेष्ठले बताए। बिगत दुई दशक अधिदेखि शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन यस क्षेत्रबाट दिएको श्रेष्ठले दाबी गरे ।
अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगिता पुरुष शारीरिक सुगठन तर्फ ५५,६०,६५,७०, र ७० केजि भन्दा बढि तौल समुह गरी ५ बटा बजन समुह र महिला तर्फ खुल्ला फिजिक्स प्रतियोगिता हुने छ । प्रतियोगितामा एउटा जिमबाट एक बजन समुहमा बढिमा एक जना खेलाडि गरि कुल जम्मा ५ जना खेलाडिले प्रतियोगितामा भाग लिन तथा एक जना टिम मेनेजरले टिमको प्रतिनिधित्व गर्न पाउनेछ ।
वुमन फिजिम्स समुहमा प्रथम हुने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा ट्रफि सहित नगद २० हजार तथा द्वित्तीय र तृतीय हुने खेलाडीलाई क्रमशः मेडल, प्रमाणपत्र तथा नगद १० हजार तथा ५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
यस्तै प्रत्येक वजन समुहमा प्रथम हुने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा ओभर अल प्रतियोगितामा सहभागिता हुनका लागि अवसर दिइने बताए । द्वित्तीय र तृतीय हुने खेलाडीलाई मेडल, प्रमाणपत्र तथा नगद ८ हजार तथा ५ हजार प्रदान गरिने अध्यक्ष श्रेष्ठले बताए ।
बजन समुहका बिजेता खेलाडीहरु बीच हुने अन्तिम स्पर्धामा सहभागी भई ओभरअल बिजेता हुने खोलाडीलाई नगद पुरस्कार १ लाख, ट्रफी, उपहार तथा व्यानेट सहित दशौ बुटवल श्री को उपाधिबाट सम्मानित गरिने अध्यक्ष क्षेष्ठले बताए । उपबिजेता चार जनालाई पुरस्कार स्वरुप ट्रफि र नगद १० हजार जनही प्रदान गरिने छ । पत्रकार सम्मेलनमा ट्रफि समेत सार्वजनिक गरिएको थियो ।
शारीरिक सुगठनको प्रतिष्ठित प्रतियोगिता धर्म श्री पछि निरन्तर सञ्चालन हुने यो प्रतियोगिताको दशौं संस्करणको रुपमा बुटवल श्री २०७९ बुटवलमा सम्पन्न भएको थियो ।
लुम्बिनी प्रदेश शारीरिक सुगठन संघको स्थापना भए पश्चात उक्त प्रतियोगिताको नेतृत्व यस संघले लिदै यस पटक लुम्बिनी, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा मधेश समेत थप गरि पाँच प्रदेश स्तरिय शारीरिक सुगठन प्रतियोगिता गर्न लागेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)