काठमाडौं,चैत १२।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
शाक्य यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर कुलमानलाई नै कार्यकारी निर्देशक बनाइएको थियो । त्यसका विरुद्ध शाक्यले दायर गरेको रिट अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन नै छ ।
उनी लामो समय नेपाल विद्युत प्राधिकरणमा काम गरेका अनुभवी कर्मचारी हुन् । विगतमा प्रसारण लाइनको गुरुयोजना, विद्युत माग प्रक्षेपणलगायतका कामका सक्रिय उनले उपकार्यकारी निर्देशक भएर विभिन्न जिम्मेवारी निर्वाह गरेका थिए ।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपाल कार्यालयमा एमसीसीअन्तर्गत प्रसारण लाइनका आयोजना बनाउने काममा सहभागी थिए ।
उनले नै एमसीसीको सहायतको रकम खर्च गरिने प्रसारण लाइनको योजना तयार गरेका थिए । उनी प्रसारणलाइन व्यवस्थापनका विज्ञ हुन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)