बुटवल,चैत २।
गुरुङ समुदायको महान पर्व मे त्हले त्ही ,(धनुष बाण) पर्व बुटवलको रामनगर गुम्बामा मनाइएको छ । तमु ह्युल छोंज धीं, गुरुङ राष्ट्रिय परिषद बुटवल उपमहानगर समितिको आयोजनामा पर्व मनाइएको हो ।
गुरुङहरुको पर्व मध्ये एक मे त्हले पर्वमा जिल्लादेखि इकाइसम्मका प्रतिनिधि तथा गुरुङ समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।हरेक वर्ष फागु पूर्णिमाको तिथीमा मनाइने यस पर्वमा वर्षको मे त्हले त्ही फागु पूर्णिमाका दिन धनुष बाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्ने, बास्केटबल, भलिबल, फुटबल आदि खेल खेल्नुका साथै खुकुरी र अन्य हातहतियारको विधिवत पुजा गरी खेलहरुको सुरु गरिन्छ ।
कार्यक्रममा पुरोहित मोम बहादुर गुरुङ्ग बाट पूजा आरधना गरी कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङ भाषा तथा खेमालिपी अभियान्ता भिम गुरुङले शुभकामना दिँदै सम्पूर्ण गुरुङहरु एक भई आफ्नो भाषा र संस्कारलाई सरंक्षण गर्नुपर्ने बताए । साथै गुरुहरुको धनुषबाणको वरदान पाएको आजको यो दिन महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि खेमालिपी निर्माता बालनरसिंह गुरुङले जबसम्म गहिरो अध्ययन गरिदैन तबसम्म कुनै पनि कुरा बुझ्न पनि नसकिने बताउँदै जुनसुकै विषयमा अध्ययन गर्न जरुरी रहेको बताए ।
उनले क्येर्लो किताबको १९ सौँ अध्याय अध्ययन गर्न सुझाव दिए । उनले हाम्रा गुरुहरूले उच्च हिमालयको फेँदीमा बसेर नौ वर्ष, नौ महिना ,नौ दिनसम्म कठोर तपस्यामा बसेर नौ दिनसम्म महायज्ञ गरी गुरुहरुको धनुषबाणको बरदान पाई दिक्षा प्राप्त गरको दिन सबैलाई ज्ञान हुनु जरूरी रहेको बताए ।
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद लुम्बिनी प्रदेशका प्रदेश सचिव लाल बहादुर गुरुङ्गले बुटवल उपमहानगरपालिकाले मगर , नेवार, थारु र नेपाली भाषाको वडापत्र राखेको बताउँदै अबगुरुङ भाषामा पनि बडापत्र राख्न पहल गर्नुपर्नेमा जोड दिए । यसैगरी कार्यक्रममा बोल्दै गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष बिमला गुरुङले देश तथा विदेशमा छरिएर रहेका समस्त नेपालीलाई शुभकामना व्यक्त गर्दै लोप हुँदै गइरहेको गुरुङहरुको संस्कृतीलाई सरंक्षण गर्नुपर्ने बताइन् ।
कार्यक्रममा वीर बहादुर गुरुङ्ग , लुम्बिनी प्रदेश प्रमुख झपड बहादुर गुरुङ्ग , जिल्ला अध्यक्ष बिमला गुरुङ , उपाध्यक्ष गंगा गुरुङ , सचिव आशा गुरुङ , रामनगर इकाईका टिकप्रसाद गुरुङ, तमु ह्युल छोंज धीं सिदार्थ नगर उपाध्यक्ष प्रेम बहादुर गुरुङ्ग र लुम्बिनी प्रदेशका प्रदेश सचिव लाल बहादुर गुरुङ्ग , नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
धनुषवाण प्रतियोगितामा ४ र ६ ईकाइ समिति,बुटवल प्रथम भई रु.५००० साथै शिल्ड प्राप्त गरेका थिए । त्यस्तै दोस्रोमा बुटवल –२ ईकाइ समितिले रु.३००० साथै शिल्ड प्राप्त गरेका थिए भने तेस्रोमा ज्योतिनगर ईकाइ समिति,बुटवलले रु.१५०० साथै शिल्ड प्राप्त गरेको धनुषवाण खेल संयोजक पूर्ण बहादुर गुरुङले बताए ।
डोरी तान प्रतियोगितामा खेमा ईकाइ समिति देवदह प्रथम भई रु.५००० साथै शिल्ड प्राप्त गरेका थिए दोस्रो–दिपनगर ईकाइ समिति, बुटवल रु.३००० साथै शिल्ड प्राप्त गरेका थिए । तेस्रोमा ज्योतिनगर ईकाइ समिति,बुटवल रु.१५०० साथै शिल्ड प्राप्त गरेका थिए डोरी तान खेलक संयोजक रचना गुरुङले बताइन् । कार्यक्रम सञ्चालन उमा गुरुङले गरेको सचिव सुन्दर गुरुङले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)