काठमाडौँ,चैत्र २ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिएका छन ।
विद्यार्थी सङ्गठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेको उनले बताए । निर्देशक अधिकारीका अनुसार देशभरि रहेका ६२ वटा आङ्गिक क्याम्पसमध्ये उपत्यकामा छ र उपत्यका बाहिर पाँच वटा आङ्गिक क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि नबढेको हो ।
उपत्यकाका नेपाल ल क्याम्पस, शङ्कर देव क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, विश्वभाषा क्याम्पस र थापाथली इञ्जिनियरिङ क्याम्पस र उपत्यका बाहिर महेन्द्रनगरको सिद्धनाथ बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, विराटनगर महेन्द्र मोरङ क्याम्पस र जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसमा प्रक्रिया रोकिएको हो ।
“निर्वाचन प्रक्रिया अगाडि नबढेका क्याम्पसमा पनि आपसी समझदारीमा निर्वाचन गर्न निर्देशन दिएका छौँ”, उनले भने, “यसपटक हामी सबै आङ्गिक क्याम्पसमा निर्वाचन गर्ने तयारीमा छौँ ।” त्रिविअन्तर्गतका क्याम्पसमा चैत ५ गते निर्वाचन हुँदैछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)