बुटवल,फागुन २७ ।
बुटवलको गाैरवकाे रूपमा रहेको यस क्षेत्रकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता चैतको पहिलो सातादेखि सुरु हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति ईण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद लुम्बिनी मुख्य सहयोगी रुपन्देहीकै पुरानो गोल्डकप प्रतियोगिताको २३ औं संस्करण चैत ९ गतेबाट शुरु हुन लागेको हो ।
रुपन्देही जिल्ला फुटबल संघले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी बारे जानकारी गराएको हो । नेपालकै प्रतिष्ठित गोल्डकप मध्येको एकमा पर्ने तिलोत्तमा गोल्डकपको तयारी पूरा भएको संघका अध्यक्ष लोक पुनले जानकारी दिए । ‘नेपालमा खप्टड, रारा, आहा रारा र तिलोत्तमा चार मुख्य गोल्डकपमध्ये हो ।’- उनले भने ।
प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैया, गोल्डकप, प्रमाणपत्रबाट पुरसकृत गरिने छ । यसैगरि उपविजेता टिमले ६ लाख, ६६ हजार, ६ सय, ६६ रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड, कोचलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाईकल उपहार तथा प्रत्येक दिनको म्यान अफ दी म्याचलाई नगद ११ हजार १ सय ११ रुपैयाबाट पुरस्कृत गरिने अध्यक्ष पुनले बताए । यो वर्ष डिफेन्डिङ च्याम्पियन मनाङ मर्याङदी क्लब सहभागी नहुने उनले बताए । प्रतियोगितामा रुपन्देही-११, संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्याईज क्लब, थ्रि स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, एडोर्न गडवाल स्पोर्टिङ क्लब, उज्वेकस्थान टिमलाई सहभागीताको लागि पत्राचार गरिएको संघले जनाएको छ ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, उपमेयर सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले खेलकुद पर्यटनको रुपमा विकास गर्ने गरि पूर्वाधार र खेल गतिविधि भैरहेको बताए । चैत ९ गतेदेखि १६ गतेसम्म संचालन हुने प्रतियोगितामा १ करोड ८ लाख रुपैया, ८८ हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।
तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको प्रतियोगिताको २३ औं संस्करण ४८ वर्षमा हुन लागेको हो ।
बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २५ वर्ष देखि जिल्ला फुटबल संघ रुपन्देहीले सञ्चालन गर्दै आएको छ । ३३ देखि ३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ३९ सालसम्म हुन सकेको थिएन ।त्यसपछि ४३ सालदेखि ५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो । ५७ र ५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ६५ सालमा सञ्चालन भएपनि ६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ७१ सालमा संचालन भए पनि पछिल्लो पटक ७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुंदै आएको गोल्डकप २०८० सालमा पनि संचालन हुन सकेन ।
२०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने २२ औं संस्करणको उपाधि मनाङ मर्स्याङ्दी क्लबले हातपारेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)